बाँदर खोज्दै जंगलमा जनप्रतिनिधि

धनकुटा । धनकुटा नगरपालिका वडा नम्बर ६ का जनप्रतिनिधि बाँदर समातेर स्थानान्तरण गर्न लागिपरेका छन्। बाँदरले अन्नबाली खाइदिएर सताउने गरेको स्थानीयको गुनासोपछि वडा कार्यालयले बजेट विनियोजन गरेरै बाँदर स्थानान्तरण गर्ने कार्यक्रम तय गरेको थियो।
चालु आर्थिक वर्षमा पाँच लाख बजेट विनियोजन गरी बाँदर स्थानान्तरण अयिान सुरु गरिएको हो। बाँदर समात्न भारतबाट आएका तालिम प्राप्त व्यक्तिसहित जनप्रतिनिधि केही सातायता बाँदर खोज्दै जंगल चहारिरहेका छन्।
वडाध्यक्ष नरेश श्रेष्ठ, सदस्य मिलन खड्गी, अन्य सदस्य र स्थानीयको टोली कचिडे, खाल्डे, सल्लेरी वन, पाङसिङ क्षेत्रका जंगलमा बाँदर खेज्दै डुल्दैछन्। यो क्षेत्रमा ४०० भन्दा बढी बाँदर नियन्त्रण गरी स्थानान्तरण गरिसकिएको जानकारी वडाध्यक्ष श्रेष्ठले दिए।
बाँदर सुरक्षित साथ घना जंगलमा छाड्ने गरिएको छ तर स्थान भने खुलाइएको छैन। याे खबर अाजकाे अन्नपूर्ण पोस्टमा छ ।