News समाज प्रदेश १

दृष्टिविहीन आमाबुवाकी १२ वर्षीया छोरी अभिभावक

दृष्टिविहीन आमाबुवाकी १२ वर्षीया छोरी अभिभावक

पर्वत । म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकम रातमाटाकी निरुता बि.क. १२ वर्ष पुगिन्। उमेर सानो भए पनि जिम्मेवारी ठूलो छ। दृष्टिविहीन आमाबुवा, तीन बहिनी र एक भाइको अभिभावकत्वको जिम्मेवारी उनकै काँधमा छ।  

 

निरुताको दिन दृष्टिविहीन आमाबुवाको हेरचाहदेखि सुरु भएर बिहान–बेलुकी चुल्हो बाल्नेसम्म पुगेर टुंगिन्छ। परिवारको हरेक समस्याको समाधान गर्ने कठिन जिम्मेवारी उनै १२ वषीया निरुतामै छ।


गाउँमा बस्नेखाने ठाउँ नभएपछि निरुताका आमाबुवा बजार आएका हुन्। तर, त्यहाँ पनि उनीहरुको दैनिकी सहज छैन। । ‘आमाबुवा देख्न सक्नुहुन्न,’ निरुताले दुखेसो पोखिन्, ‘बहिनीहरु साना छन्, उहाँहरुलाई हिँडाउने, अलिअलि पैसा जुटाउने काम मैले नै गर्नुपर्छ।’ 

 

पढाइमा राम्रो नतिजा ल्याउने गरेकी निरुताले पढाइलाई निरन्तरता दिन सकेकी छैनन्। उनको ध्यान पढाइमा भन्दा पनि परिवारलाई आवश्यक खाद्यान्नलगायत अन्य कुराको जोहो गर्नमै केन्द्रित हुन्छ।

 

लामाखेतबाट आफ्ना उमेरका साथीहरु विद्यालय पोशाकमा चिटिक्क सजिएर विद्यालय जाँदा निरूतालाई भने दृष्टिविहीन आमाबुवालाई डोर्‍याएर सहयोग संकलन गर्न विभिन्न स्थान चहार्दै हिँडुनुपर्ने बाध्यता छ । उनले भनिन्, ‘बिहान–बेलुकी खाने खर्च पुगेपनि म पढाइमा समय दिन सक्थें।’ 

 

निरुताको पढाइका लागि पर्वत र म्याग्दीका केहीले पोशाक, स्टेशनरी र केही नगद सहयोग समेत गरेका छन्। तर, ठूलो परिवार सञ्चालनको जिम्मेवारीले थिचिएकी उनले पढाइलाई समय दिन सकेकी छैन। 

 

उनका आमाबुवाको उपचारका लागि केही संघसंस्थाले आर्थिक सहयोग गरेका छन्। तर, त्यसले नपुगेको निरुता बताउँछिन्। त्यसैले उनले सहयोगको अपिल गर्दै आएकी छन्। निरुताको परिवारको स्थायी घर म्याग्दी भएपनि अहिले उनीहरु पर्वतको जलजला गाउँपालिका लामाखेतमा भाडामा बस्ने गरेका छन्। 
 

पर्वत आमाबुवाकी छोरी अभिभावक

विशेष