News स्वास्थ्य

बैतडीका १६ वडामा छैनन् स्वास्थ्यचौकी, कुनै वडामा दुई वटा

बैतडीका १६ वडामा छैनन् स्वास्थ्यचौकी, कुनै वडामा दुई वटा

 

बैतडी । बैतडीका ८४ मध्ये १६ वटा वडामा स्वास्थ्यचौकी नहुँदा समस्या भएको छ। नयाँ संरचनाअनुसार सबै वडामा स्वास्थ्य सेवा पुर्‍याउन कठिन भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकृत भुवन जोशीले जानकारी दिए।

 

 साविकका ६८ गाविसमा स्वास्थ्य संस्था भए पनि १६ मा स्वास्थ्यसंस्था छैन उनले ‘स्वास्थ्य संस्था नभएका वडामा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न समस्या भएको छ। 

 

नयाँ संरचना अनुसार कुनै वडामा दुई स्वास्थ्यचौकी परेका छन्। आफ्नो वडामा स्वास्थ्यचौकी नहुँदा समस्यामा परको डिलासैनी गाउँपालिका ६ का मञ्जु टेलरले बताइन्। उनले भनिन् ‘सिटामोलका लागि पनि दार्चुलाको गोकुलेश्वर जानुपर्ने बाध्यता छ।’ 

 

सरकारले स्वास्थ्यसेवा स्थानीय तहबाटै उपलब्ध गराउने भने पनि आफूहरुले सरकारले प्रदान गर्ने नि:शुल्क सेवा समेत उपभोग गर्न नपाएको डिलासैनी ६ का दीपक जोशीले बताए।

 

 आफ्नो वडामा स्वास्थ्यचौकी नहुँदा स्वास्थ्य कार्यक्रम सञ्चालन गर्न निकै कठिन भएको दशरथचन्द नगरपालिका ७ का वडाध्यक्ष चक्रप्रसाद शर्माले जानकारी दिए। 

 

 स्वास्थ्यचौकी नभएका वडामा गर्भवती, सुत्केरी र आकस्मिक बिरामीहरुलाई निकै असहज भएको स्थानीयवासीको भनाइ छ। स्वास्थ्यचौकी नभएका वडामा तत्कालै स्वास्थ्यचौकी बन्ने छाँटकाँट देखिएको छैन। 

 

वडा तहमा भवन निर्माणका लागि ५ रोपनी जमीन आवश्यक पर्ने भएपनि १६ मध्ये अहिले सम्म चार वडाले मात्रै  जमीन पाएका छन्।  यस्तै १० स्थानीय तहमा प्राथमिक अस्पताल निर्माणका लागि १५ रोपनी जमीन आवश्यक पर्ने भए पनि तीन तहले मात्रै जमीन उपलब्ध गराएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले जानकारी दिए।

 

 

 शिवनाथ गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पाटन नगरपालिकाले स्वास्थ्यको नाममा १५ रोपनीका हिसाबले जमीन उपलब्ध गराएको उनले बताए। 

बैतडी स्वास्थ्यचौकी

विशेष