News देश

शिक्षक नै शौच गर्न जंगल जानु परेपछि...

शिक्षक नै शौच गर्न जंगल जानु परेपछि...

तेह्रथुम, वैशाख १६ । खुला दिसामुक्त जिल्लाका शिक्षकहरु नै शौच गर्न जंगलतिर जान्छन् भन्दा तपाईँलाई अचम्म लाग्न सक्छ ।

 

तर तपाईँ अचम्मित नहुनुहोस्, यो घटना यथार्थ हो । तर यसमा शिक्षकहरुको रहर छैन । उनीहरुको बाध्यता हो । खुला दिसामुक्त घोषित जिल्ला तेह्रथुमका दर्जन बढी सुख्खाग्रस्त गाउँका विद्यालयमा अध्यापनरत शिक्षकहरु शौच गर्न जंगल छिर्छन् ।

 

शौच गरिसकेपछि सरसफाई गर्ने पानी नहुँदा जिल्लाका गाउँ गाउँमा रहेका विद्यालयका शिक्षकहरु नै शौच गर्न जंगलतिर जानुपर्ने बाध्यता रहेको बताउँछन् । तेह्रथुमका फेदाप, छथर र आठराई गाउँपालिका तथा म्याङलुङ नगरपालिकाका समेत धेरैवटा विद्यालयहरुमा शौचालय त छन्, तर शौचालयको सरसफाईमा प्रयोग हुने पानी नहुँदा प्रयोगमा आउन सकेका छैनन् ।

 

त्यस्ता विद्यालयका शिक्षक र विद्यार्थीहरु खुला रुपमा नै शौच गर्न बाध्य छन् । गाउँभन्दा टाढा रहेको आफ्नो विद्यालयमा शौचालय सन्चालनका लागि पानी नहुँदा यस्तै समस्या बेहोरिरहेको फेदाप गाउँपालिका–१ स्थित बालमकर माविका प्रधानाध्यापक कृष्णबहादुर थापाले बताउनुभयो ।

विशेष