News राजनीति प्रदेश २

प्रतिपक्ष तोक्नुपर्ने भन्दै सदनमा कांग्रेसको अवरोध

प्रतिपक्ष तोक्नुपर्ने भन्दै सदनमा कांग्रेसको अवरोध

जनकपुरधाम ।  प्रदेश २ मा कांग्रेस सांसदले प्रतिपक्षमा दाबी गर्दै प्रदेशसभा बैठक अवरुद्ध पारेका छन्। प्रदेशसभाको २२ औं बैठकलाई शनिबार कांग्रेस सांसदले कार्यसूचीमा प्रवेश गर्न नदिई टेबल ठोक्दै उभिएर विरोध जनाएका हुन्। 

 

त्यसपछि सभामुख सरोज यादवले आफ्ना कुरा राख्न कांग्रेस प्रदेशसभा संसदीय दलका नेता रामसरोज यादवलाई अनुमति दिएका थिए ।

 

नेता यादवले प्रतिपक्षमा कुन दल बस्ने भन्ने विषयमा हालसम्म निर्णय नभएको भन्दै आपत्ति जनाए। ‘सदन साढे दुई महिनादेखि चल्दै आएको छ तर प्रतिपक्षी दलको टुंगो लाग्न सकेको छैन’, उनले भने।


कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रतिपक्षको विषय टुंगो लगाउने अधिकार सर्वसम्मतिले सभामुखलाई दिइएको थियो। चैत ११ गते बसेको बैठकमा भएको निर्णयअनुसार पाँच दिनभित्र सभामुखले प्रतिपक्षमा कुन दल बस्ने भन्ने निर्णय गरेर सदनमा जानकारी गराउनुपर्ने थियो। 


प्रदेश सरकारलाई समर्थन गरेको एमालेले पनि सदनमा प्रतिपक्षको दाबी गर्दै आएको छ । सरकारलाई समर्थन गरी प्रतिपक्ष ताक्नु उचित नरहेको उनले बताए । बिना प्रतिपक्ष सरकार सञ्चालन भइरहेको उल्लेख गर्दै उनले यस विषयलाई समयमै टुंगो लगाउनका लागि सभामुखको ध्यानाकर्षण गराए। 

 

यो विषयको टुंगो नलागेसम्म सदनको कारबाही अघि बढ्न नदिने भन्दै कांग्रेस सांसद उभिएरै विरोध जनाएका थिए। दुईपटक बस्न अनुरोध गर्दा पनि नमानेपछि सभामुखले बैठक स्थगन भएको घोषणा गरेका थिए।

 

बैठकमा मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची थियो। अर्को बैठक आगामी बिहीबार बस्ने भएको छ।

काँग्रेस सदन अवरोध

विशेष