News मुख्य समाचार

अब कुनै पनि नेपालीले खान-बस्न नपाएर मर्ने दिन गएः प्रधानमन्त्री अाेली

'भ्रष्टाचार गर्दिनँ, कसैले गरे छाड्दिन'

अब कुनै पनि नेपालीले खान-बस्न नपाएर मर्ने दिन गएः प्रधानमन्त्री अाेली

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले देशकाे समृद्ध र नागरिकलाई आर्थिकरुपले सम्पन्न बनाउन अब कुनै कुरामा अल्झिन नहुने बताएका छन् ।


प्रदेश नं ५ को प्रदेशसभा बैठकलाई आइतवार बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तीनवटै तहका सरकारको ध्यान अब आर्थिक विकास र समृद्धितर्फ हुनुपर्ने बताएका हुन् । 

 

उनले मुलुकको आर्थिक समृद्धिका लागि मुलुकभित्र भएका मानवीय र प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गरेर सबै आर्थिक विकासमा केन्द्रित हुनुपर्ने बताए।


प्रधानमन्त्रीले संविधानले दिएको तीन तहको सरकार गठन गरेपछि पहिलो पटक संघीय सरकारको प्रधानमन्त्रीको हैसियतमा सम्बोधन गर्न पाउँदा निकै खुशी लागेको बताउँदै यस्तो खुशीको अनुभूति प्रत्येक नागरिकलाई दिलाउन पहल गर्नुपर्ने बताए।

 


लोकतन्त्रको स्थापनाका लागि गरिएका आन्दोलनले केही समय देश पछाडि परेको बताउँदै राष्ट्रसंघले अगाडि सारेको सन् २०३० सम्मको दिगो विकासको लक्षलाई पूरा गर्न वर्तमान सरकारले आफ्नो नीति तथा कार्यक्रममा महत्वपूर्ण कार्यक्रमलाई अगाडि बढाउने उनले स्पष्ट पारे। 

 


प्रधानमन्त्रीले नेपालको व्यापार घाटा असन्तुलनमात्र नभएर निकै ठूलो अन्तर रहेको बताउँदै यसलाई घटाउन हरेक कुराको सदुपयोग गरेर निर्यातमूलक उत्पादन बढाए र जनताको जीवनस्तर बढाउने काम वर्तमान सरकार लागि पर्ने बताए। विगतमा छिमेकी देशसँगको सम्बन्ध केही समस्या भए पनि अहिले वर्तमान अवस्थामा सम्बन्ध सुमधुर भइरहेको उनले बताए ।

। 

गौतमबुद्धको जन्मस्थल लुम्बिनी र यससँग सम्बन्धित थुप्रै क्षेत्रसँगै अन्य महत्वपूर्ण धार्मिकस्थानको संरक्षण, विकास र प्रचारप्रसार गरेर प्रदेशमा निकै ठूला अवसर रहेको भन्दै उनले सो अवसरको उपयोग गर्नसमेत आग्रह गरे। 

 

धार्मिक पर्यटन, सांस्कृतिक, पर्यटन, कृषि, उद्योग, व्यापारलगायत धेरै सम्भावना प्रदेश नं ५ मा रहेको बताउँदै यसको योजनाबद्ध विकासमा लाग्न उनले निर्देशन दिए।


तत्काल आफ्नो स्रोतसाधनले मात्रै सबैखाले विकास गर्न र आर्थिक समृद्धि गर्न सम्भव नभए छिमेकीको सहयोग र सीपको पनि उपयोग गर्न सकिने उनले बताए। 

 

महिला, पछाडि परेका वर्ग र समुदायबीचमा रहेको असमानता हटाउन संविधानमा व्यवस्था भएअनुसारका क्रियाकलाप गर्न र वास्तविक रुपमै असमानता हटाउन प्रधानमन्त्रीले आग्रह गरे। 


कुनै पनि नेपाली अब खान नपाएर र चिसोले कठ्याँग्रिएर मरे भन्ने सुन्न नपर्ने बताउदै प्रधानमन्त्री ओलीले जनतालाई सुशासन दिन आफूले भ्रष्टाचार नगर्ने र भ्रष्टाचार गर्ने कसैलाई पनि नछाड्ने बताए।

 

 'म भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन र भ्रष्टाचारको मामलामा को पर्छ भनेर अनुहारतिर हेर्दिनँ', उनले भने। 'सिण्डिकेट तोड्न खोज्दा निकै ठूलो प्रतिरोधको सामना गर्नुपरेको छ । अनुचित कुराहरुमा सरकारको कुनै सम्झौता हुदैन ।'

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि आकाशको अधिकार लिने र विमानहरु चल्ने बताउँदै प्रधानमन्त्री ओलीले आफूले भारत भ्रमणमा जाँदा पनि यो कुरा राखेको बताए।
 

प्रधानमन्त्री अाेली बुटवल खान-बस्न

विशेष