News समाज

प्रधानमन्त्रीद्वारा बुद्धजयन्ती र उभाैलीकाे शुभकामना

प्रधानमन्त्रीद्वारा बुद्धजयन्ती र उभाैलीकाे शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई बुद्ध जयन्तीको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । 

 

२५६२ औं बुद्धजयन्तीको अवसरमा एक सन्देश प्रकाशित गर्दै नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनुभएका गौतम बुद्धका उपदेशहरु विश्वमै लोकप्रिय रहेको बताए ।

 

‘‘शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगतको कल्याण गर्न गृहत्याग गरी कठोर परिश्रमबाट प्राप्त गर्नु भएको बोधी ज्ञान आजसम्म पनि उत्तिकै शास्वत छ ।

 

 बुद्ध विचारले अहिंसा, सदभाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकाले नै उहाँका विचारहरु विश्वभर यति धेरै लोकप्रिय हुन सकेका हुन्’’ शुभकामना सन्देशमा भनिएको छ । 

 

सन्देशमा गौतम बुद्ध नेपालको भूमिमा जन्मेर मानव कल्याणका लागि ठूलो योगदान दिनु भएकाले उहाँप्रति हामीले गर्व गर्न सक्ने बताउँदै बुद्ध हामी सबै नेपालीहरूको लागि गर्वका प्रतीक हुनुहुन्छ प्रधानमन्त्रीले सन्देशमा उल्लेख गरे । 

 

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको विश्व भातृत्वको भावनालाई आत्मसात गर्दै सबैलाई मिलेर अगाडि बढ्न प्रेरणा मिलोस् र सबैको कल्याण होस् भन्ने शुभकामना पनि व्यक्त गरे ।

 

यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले किरातहरुको महान चाड उभौलीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरु प्रति सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । 

 

नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताहरुको संगमस्थल भएको उल्लेख गर्दै प्रधानमन्त्रीले विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रो अनुपम विशेषता भएको सन्देशमा लेखेका छन् ।

 

 ‘भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्नो जातीय पहिचान दिलाउने विशेषताहरु हुन् । त्यसैगरी किरात जाति पनि आफ्नो मौलिक संस्कृति र विशेषता बोकेको आदिवासी हो । किरात विविध मूल्य मान्यता र संस्कारले धनी मानिन्छ,’ शुभकामना सन्देशमा उल्लेख छ । 

 

किराँतहरूको उभौंली पर्व पृथ्वीमा कृषि युग सुरु भएदेखि प्रचलनमा आएको विश्वास गरिन्छ । किरातहरू प्रकृति पुजक भएकोले प्रकृतिलाई खुसी पार्नका लागि हरेक वर्ष वाली लगाउने समयमा उनीहरूले यो पर्व प्रमुख चाडका रूपमा मनाउने गरेको छन् । 

 

बालीनालीमा रोगव्याधि नलागोस्, बाढी पहिरोजस्ता प्राकृतिक प्रकोपबाट जोगिन सकियोस् भन्ने कामनाका साथ मनाइने यस पर्वको ठूलो सांस्कृतिक र सामाजिक महत्व रहेको प्रधानमन्त्रीको भनाइ छ । रासस
 

प्रधानमन्त्री ओली बुद्धजयन्ती र उभाैली शुभकामना

विशेष