बिहे नगरिकनआलियाले सोचिन् बच्चाको नाम
आलिया भट्टको नाम अभिनेताद्वय सिद्धार्थ मलहोत्रा र रणवीर कपुरसँग जोडिने गरेको छ । वेलावेलामा उनको अफेयरको चर्चाले स्थान पाउने गरेको छ । प्रेमको कुरा आए पनि आलियाको बिहेबारे कुरा हुने गरेको छैन । आफ्नो बिहे गर्ने उमेर भइनसकेको दाबी उनको छ ।
नयाँ पत्रिकाले छापेको छ- बिहे नगरे पनि आलियाले आफ्नो बच्चाको नाम भने सोचिसकेकी छिन् । भारतीय मिडियाले उल्लेख गरेअनुसार आलियालाई बच्चाको नामप्रति विशेष आकर्षण छ । त्यसैले उनले आफ्नो दिमागमा तीन–चारवटा नाम ‘सेभ’ गरेर राखेकी छिन् ।
‘मलाई बच्चाको नामप्रति विशेष लगाव छ,’ हाल आफू अभिनित राजी फिल्मको प्रमोसनमा व्यस्त रहेकी आलियाले मिडियासँग भनेकी छिन्,‘फुर्सदको समयमा म बच्चाको नाम सोच्ने गर्दछु । तीमध्ये तीन–चारवटा नाम मलाई निकै मन परेको छ ।’
आलियाले आफूलाई मन परेका ती नाम के हुन्, त्यो भने गोप्य नै राखेकी छिन् । ‘ती नाम गोप्य नै राख्छु,’ उनले भनेकी छिन्, ‘पछि आफैँलाई काम लाग्छ नि ।’ आलियाले कहिले बिहे गर्लिन्, कहिले बच्चा जन्माउलिन् र ती नाम बताउलिन्,त्यसको लागि कुर्नुको विकल्प छैन ।