बौद्धनाथ स्तुपमा पूर्वयुवराज पारसले भने, ‘सेल्फी खिचौं न त’ (भिडियो)
काठमाडौं । बुद्धपूर्णिमाको अवसर पारेर पूर्वयुवराज पारस शाह सोमबार बेलुका अकस्मात बौद्धनाथ स्तुप पुगे । आफ्ना सिमित समर्थकहरुलाई मात्रै सूचना दिएर बौद्धनाथ पुगेका पूर्वयुवराजले दुइ स्थानमा दीप प्रज्वलन गरे ।
बेलुका ठिक ९ः १५ बजे आफैले चलाएको गाडी लिएर बौद्धनाथ पुगेका शाह करिब १५ मिनेट दीपप्रज्वलन र बौद्धनाथ परिक्रममामा खर्चिए ।
सरकारी सुरक्षा बिना नै बौद्धनाथ पुगेका पारसलाई शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत बाबासहितको टोलीले सुरक्षाको प्रबन्ध मिलाएको थियो । ढाकाको टोपीबाहेक अनौपचारिक भेषमा बौद्धनाथ प्रवेश गर्दा उनका साथमा करिब १५—२० जना थिए भने निस्कने बेलामा श्रद्धालुहरुले उनलाई घेरे ।
विशेषगरी युवाहरुको घेरामा परेका उनलाई निस्किने बेला हम्मेहम्मे परेको थियो ।
अन्यत्रको भ्रमणमा पूर्वयुवराजका समर्थकहरुले नारा लगाउने गर्थे । तर सोमबार बेलुका बौद्धनाथमा त्यस्तो सुनिएन । शिव सेनाका अध्यक्ष अनिल बस्नेतले भने, ‘सरकारको बौद्धनाथ दर्शन गर्ने कार्यक्रम भएकोले अन्य गतिविधि नभएको हो । ’
बौद्धनाथ परिक्रमा गरिरहँदा ठाउँ ठाउँमा युवाहरुले फोटो खिच्न पटक पटक रोके । उनको सुरक्षाको समेत जिम्मेवारी सम्हालिरहेका सहयोगहरुले केही रोक्ने खोजे पनि पारस आफैले बोलाएरै फोटो खिचाए । कतिसम्म भने केही सर्वसाधारण एक्लै थिए । एक्लै हुनेहरुको फोटो खिचिदिने मानिस नहुँदा पारस आफैले ‘ल सेल्फी खिचौं न त’ भन्दै उनीहरुको इच्छा पूरा गरिदिए ।
भिडमा पारसलाई ‘मौसुफ सरकार’ भन्नेदेखि ‘दाई’ भन्नेसम्मे भेटिए । तर पारसले कसैलाई पनि कुनै भेदभाव गरेनन् । कतिसम्म भने भित्री गञ्जी लगाएकालाई समेत बोलाएरै फोटो खिचाइदिए ।
पारस सोमबार बौद्धनाथ स्तुपमा पनि दुब्ला पातला नै देखिए । उनका सहयोगीहरुका अनुसार ज्यान पातलो भए पनि अहिले उनको स्वास्थ्यमा सामान्य छ ।
स्तुपको परिक्रमा पछि प्रवेशद्वारमा पनि दीप प्रज्वल गरे । दीपको बेच्ने थिइन्, लमजुङकी लक्ष्मी घले । उनले दीपको ५० रुपैयाँ मूल्य भनिन् । पारसका समर्थकले लक्ष्मीलाई १०० रुपैयाँ दिए । लक्ष्मीको अनुहार उज्यालो भयो, बलेको दीयो जस्तै ।