युट्युबको रोयल्टी कसको ?
काठमाडौँ । सार्वजनिक यातायातमा गीत बजाएबापत रोयल्टी उठाउने नियम लगाइरहँदा ठूलो राशिमा कारोबार हुने डिजिटल प्लेटफर्म युट्युब भने रोयल्टीको दायरामा आउन सकेको छैन ।
द एक्स ब्यान्डका भोकलिस्ट शिव मुखियाले गत साता ‘म्युजिक नेपाललाई मुद्दा हाल्ने तयारीमा छु’ भन्दै रातो पृष्ठभूमि राखेर फेसबुकमा स्टाटस लेखे । यसमा प्रनिल एल तिमिल्सिना, शिव परियार, गिरीश खतिवडा, विजय लामा, भीषण मुकारुङलगायत संगीतकर्मीले पनि ‘हाल्नैपर्छ’ भन्ने आशयको कमेन्ट गरेका छन् ।
डिजिटल प्लेटफर्ममा सिन्डिकेट शैली अपनाएको, अर्काको सिर्जना बेचेर खाएको भन्दै उनीहरू आक्रोशित बनेका देखिन्थे । साथीभाइका कमेन्ट हेरेपछि शिव थप आश्चर्यमा परेका छन् ।
‘म मात्र होइन, म्युजिक नेपालले सबैलाई मारमा पारेको रहेछ,’ उनी भन्छन्, ‘हाम्रो गीत हामीले हाम्रै च्यानलमा अपलोड गर्दा हामीमाथि नै कन्टेन्ट क्लेम हुन्छ, ।
कान्तिपुर दैनिक लेख्छ- लोभलाग्दो भ्युज र सब्स्कि्रप्सन भएका कुनै पनि च्यानलले युट्युबबाट प्राप्त रेमिट्यान्स रोयल्टी कलाकर्मीसँग सेयर नगरेको संगीत रोयल्टी संकलन समाजका महासचिव महेश खड्काले बताए ।
‘हामीले सन् २०१६ मा युट्युबसँग सम्झौता गरेका थियौं,’ रोयल्टी संकलन समाजकी सीईओ मीनाक्षी कोइराला भन्छिन्, ‘मनिटाइजको प्रक्रियामा आउन समय लाग्छ भनेका छन् । यो नभएसम्म क्रिएटिभ रोयल्टी पाइँदैन ।’
मिनाक्षीका अनुसार युट्युबले मेकानिकल र क्रिएटिभ गरी दुई थरी रोयल्टी दिन्छ । अहिलेसम्म हामीले मेकानिकल रोयल्टी मात्र पाइरहेका छौं । क्रिएटिभ रोयल्टी नपाएकाले संगीत रोयल्टी संकलन समाज कुनै पनि एग्रिगेटर्स वा युट्युब एकाउन्ट होल्डरसँग रोयल्टी दाबी गर्न सक्ने अवस्थामा छैन ।
महासचिव खडकाचाहिँ युट्युबका प्रावधानलाई आधार बनाएर विभिन्न जालसाजी भइरहेको बताउँछन् । आफूहरूले आजसम्म कुनै युट्युब च्यानलबाट एक सुका रोयल्टी नपाएको संगीतकार खडकाले बताए । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।