पर्यटक बसमार्फत रक्तचन्दनसहित अवैध सामान ओसार पसार गर्ने दुई पक्राउ
काठमाडौं । पर्यटक बसमार्फत रक्तचन्दनसहित अवैध सामान ओसार पसार गर्ने दुई जना पक्राउ परेका छन् । रक्तचन्दनसहित राजस्व नै छली गरी भित्र्याइएको अवैध सामानसहित टुरिष्ट बसका चालक र सहचालक पक्राउ परेका हुन् ।
गत सोमवार विहान ३ बजे ना ४ ख ४५१६ नम्बरको बस नयाँ दिल्लीबाट काठमाडौंका लागि छुटेको थियो । बसमा ३६ जना यात्रु थिए ।नेपालगञ्ज नाका हुँदै नेपाल भित्रिएको बसमा बुटवल आइपुग्दासम्म चार जना यात्रु मात्र भए । सूचनाका आधारमा प्रहरीले सो बसलाई मंगलवार दिउँसो काठमाडौंको कलंकीबाट नियन्त्रणमा लिएर चेकजाँच गर्दा रक्तचन्दनसहित अवैध सामान बरामद भएको हो ।
बसभित्र फल्स बटम बनाएर लाखौँको सामान ल्याइएको थियो । गाडीका चालक झिल्केमान रुम्बा र सहचालक सुजन पुनलाई प्रहरीले प्रकाउ गरि अनुसन्धान अगाडि बढाएको छ ।
बसको सिटमाथि मात्र नभई बसको छत र डिकीमा समेत फल्स बटम बनाएर लुगा तथा विद्युतीय सामग्रीको तस्करी गरेर ल्याइएको पाइएको छ । बसको इन्जिनभित्र फल्स फटम बनाएर ल्याइएको ११ किलो रक्तचन्दन पनि प्रहरीले बरामद गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी विश्वराज पोखरेल २५ लाख रुपैयाँभन्दा बढीको सामान राजस्व छली गरेर ल्याएको जानकारी दिनुभयो । नेपालगञ्ज नाकाबाट तस्करीको सामान बोकेर बस सजिलै नेपाल भित्रिने गर्दै आएको तथ्य पनि खुलेको छ ।
भन्सार चेकजाँचमा खटिएका सुरक्षाकर्मी र भन्सारका कर्मचारीले बसलाई चेकजाँच नगरि छोड्ने गरेको पनि यो घटनाले पुष्टि गरेको छ ।
पर्यटक बस राजस्व पक्राउ रक्तचन्दन