स्थानीयकाे सहयाेगमा बन्ने भाे गाउँपालिका भवन
पर्वत । मोदी गाउँपालिकाको भवन निर्माणका लागि स्थानीयले ७० लाख रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराएका छन्।
देउपुरको कँडेनबाट पातिचौरमा सरेको केन्द्रका भवन निर्माण गर्न वडा नं २ का बासिन्दाले रकम उठाएर जग्गा खरिद गरेका हुन्। जग्गा खरिदका लागि सय परिवारभन्दा बढीले पाँच हजारदेखि १ लाख ७५ हजार रुपैयाँसम्म चन्दा सहयोग गरेका छन्।
पातीचौर आसपासमा सार्वजानिक जग्गा र अन्य कुनै कार्यालयको भवन नभएकाले जग्गा खरिद नै गर्नुपरेको हो। अहिले गाउँपालिकाको भवन भाडाको घरमा राखिएको छ।
जग्गा खरिदसँगै घडेरी सम्याउने काम भइरहेको गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद शर्माले जानकारी दिए। ‘भवन बनाउन जग्गा सम्याउन थालिएको छ,’ शर्माले भने, ‘जग्गा पाएपछि भवन निर्माण गर्ने योजना पूरा हुँदै छ।’
अध्यक्ष शर्माका अनुसार चालु आर्थिक वर्षमै भवन निर्माणका लागि भूकम्प पुनर्निर्माण प्राधिकरणबाट १० करोड रुपैयाँ विनियोजन भएको छ। अहिले सोही रकमबाट काम सुरु भएको हो।