फेक न्युज लेख्ने पत्रकारलार्इ दिइएकाे कारवाहीकाे अादेश माेदी सरकारद्वारा फिर्ता
भारत सरकारले फेक न्यूज (झुठो समाचार) लेखेको भन्दै कारबाही गर्न दिएको निर्देशन २४ घण्टा नबित्दै फिर्ता लिएको छ।
भारतको सूचना तथा प्रशारण मन्त्रालयले फेक न्यूज सम्प्रेषण गर्ने पत्रकारविरुद्ध कारबाही गर्न निर्देशन दिएको थियो तर प्रधानमन्त्री मोदीले उक्त निर्देशन खारेजीको लागि आदेश दिएका छन्।
सूचना तथा प्रशारण मन्त्रालयबाट फेक न्यूज लेखेको वा प्रोपोगाण्डामा संलग्न रहेको पाइएमा कुनै पनि पत्रकारको प्रत्यायन खारेज गर्न निर्देशन जारी भएको थियो।
‘अप्रिल २ मा फेक न्यूज विरुद्धको निर्देशन खारेज गरिएको छ’, मंगलबार जारी गरिएको एक विज्ञप्तिमा मन्त्रालयले उल्लेख गरेको छ।
मोदी सरकारको अहिलेको निर्णयले भारतमा सरकारविरुद्ध आलोचना बढ्दै गएको छ।
‘पत्रकारले उनीहरुले काम गर्ने संस्थाबाट सिफारिस पाउने गरेका छन् र उनीहरुले फेक न्यूज कहिल्यै पनि प्रशारण गर्दैनन्,’ भारतमा मिडिया वाच डगको रुपमा रहेको संस्था द हुट डट ओराजीकी सेवान्ती निनानले भनिन्।
‘सरकारले सत्य समाचारलाई पनि फेक न्यूज जस्तो बनाएको छ। मंगलबार इण्डियन एक्सप्रेसको मुख्य पृष्ठमा छापिएको समाचारलाई पनि केही पार्टी परस्त वेभसाइटले फेक न्यूजको ट्याग दिएका थिए र ती अनलाइन सत्तामा रहेका मन्त्रीहरुको संरक्षणमा चलिरहेका छन्,’ उनले भनिन् ।
चुनाव आउन एक वर्षभन्दा कम समय बाँकी रहेको बेला सरकारले जारी गरेको यस्तो निर्देशनलाई मिडिया स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप मानिएको छ।