News अर्थ प्रदेश ७

सात नम्बर प्रदेशमा बजेटबारे छलफल, पहाडमै विकास गर्न जोड

सात नम्बर प्रदेशमा बजेटबारे छलफल, पहाडमै विकास गर्न जोड

कैलाली । सात नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेशको बजेट तयारीबारे सरोकारवालाहरुसँग छलफल गरेका छन् ।

 

बिहीबार मन्त्री बोहोराले ९ वटै जिल्ला समन्वय समितिका संयोजक,कोष नियन्त्रक र जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष, भन्सार अधिकृत, सेती र महाकालीका कर अधिकृत, बाजुरा, डडेल्धुरा, कञ्चनपुर, डोटी र दार्चुला तथ्याङ्क प्रमुख र राष्ट्र बैंक धनगढीका प्रबन्धकसँग बजेटबारे छलफल गरेका हुन् ।

 

छलफलमा प्रदेश ७ का  जिल्ला समन्वय समिति महासंघका अध्यक्ष गणेश भट्टले पहाडको अनियन्त्रित बसाइँसराइ रोक्न गाउँघर विकास कार्यक्रमबाट पहाडमै विकास गर्न प्रदेश सरकारले जोड दिनुपर्ने बताए । अध्यक्ष भट्टले अल्पकालीन बजेट युवा स्वरोजगार केन्द्रीत हुनुपर्ने बताए । 

 

त्यस्तै सेती अञ्चल कर अधिकृत कृष्ण बहादुर बोहराले जनतालाई कर रहरले तिर्ने वातावरण बनाउन कर शिक्षामा जोड दिनुपर्ने धारणा राखे ।

 

उद्योग वाणिाज्य महासंघ ७ नम्बर प्रदेश संयोजक शंकर बोगटीले बजेट छर्नु भन्दा पनि अर्थपूर्ण कार्यक्रमबाट जनतालाई राहात महसुस हुने कार्यक्रम ल्याउन सुझाव दिए । यस्तै छलफलमा सहभागि अधिकांश बक्ताहरुले ७ नम्बर  प्रदेशको बिकासको मुल आधार कृषि ,जलविद्युत ,पर्यटन र जडिबुटीलाई बजेटमा विशेष प्राथमिकतामा राख्न जोड दिएका थिए । 

 

सहभागिहरुको सुझाव सुनेपछि मन्त्री बोहराले बजेटलाई सबैको स्वामित्व र जनमुखी बनाउन यस्ता छलफल सहयोगि बन्ने विश्वास व्यक्त गरे ।कार्यक्रमको सहजिकरण अर्थ सचिव शंकरकृष्ण श्रेष्ठले गरेका थिए ।

 

यसैगरी चैत्र ३० गते प्रदेश ७ का ८८ वटा स्थानीय तहका प्रमुखहरुसँग छलफल गरि सरकारले ३ महिनाका लागि १ अर्ब २ करोड ५ लाखको बजेट प्रस्तुत गर्ने तयारी भएको मन्त्री बोहोराका प्रेस सल्लाहकार भरत बोहराले जानकारी दिए ।

धनगढी बजेट झपट बोहरा प्रदेश ७

विशेष