News मुख्य समाचार राजनीति

ओलीको राष्ट्रवादी व्यक्तित्वमाथि फणीन्द्र नेपालकाे शंका, बुझाए तीन बुँदे पत्र

ओलीको राष्ट्रवादी व्यक्तित्वमाथि फणीन्द्र नेपालकाे शंका,  बुझाए तीन बुँदे पत्र

काठमाडौं । विगत दुई दशकदेखि ग्रेटर नेपालको मुद्दा उठाउँदै आएका ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले विहिबार दिउँसो प्रधानमन्त्री केपी ओलीलाई तीन बुँदे पत्र पठाएका छन् । 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर उनले प्रधानमन्त्री सम्पर्क शाखाको दर्ता नं. ९०८२ मा ओलीका नाममा लेखेका पत्र दर्ता गराएका हुन् । 


प्रधानमन्त्री केपी ओलीको तीन दिने भारत भ्रमणको पूर्व सन्ध्यामा लेखेको पत्रमा ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले भारत भ्रमण गर्न हतार गरेको तर चिनको भ्रमण गर्न तत्परता नदेखाएको आरोप लगाउँदै प्रधानमन्त्री ओलीको राष्ट्रवादी व्यक्तित्वमाथि शंका व्यक्त गरेका छन् ।
 


उक्त तीन बुँदे पत्रमा नेपालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ को अक्षरशः पालना गर्दै ग्रेटर नेपाल कायम गर्ने मुद्दा उठाउन, गोर्खा भर्ती बन्द गर्न र कालापानीबाट भारतीय अर्ध सैनिक बल हटाउने विषयमा आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग खुलेर वार्ता गर्न आग्रह गरेका छन् । 


पत्रको पूर्ण विवरण यस्तो छ:


सम्माननीय प्रधानमन्त्री श्री के पी शर्मा ओली
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सिंहदरबार, काठमाडौं ।

आज म तपाईंलाई ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको अध्यक्षको हैसियतले भन्दा पनि मैले व्यक्तिगत रुपमा सन् १८१६ मार्च ४ को सुगौली सन्धि, सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धि र ग्रेटर नेपालका विषयमा विगत दुई दशकदेखि आवाज उठाइरहेको सन्दर्भका आधारमा सम्बोधन गर्दैछु ।


तपाईंले भोलि चैत्र २३ गतेदेखि २५ गतेसम्म भारतको राजकीय भ्रमण गर्नु हुँदैछ भन्ने कुराले मेरा मनमा एउटा जिज्ञासा र अनेक तरङ्ग उठेका छन् । तपाईं किन भारत जान हतारिनुभयो अनि चीन जाने विषयलाई तपाईंले किन प्राथमिकता दिनुभएन ? भारतसँग सम्बन्ध सुधार्न जाँदै छु भनेर तपाईंले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालविरुद्ध गरेको नाकाबन्दीलाई आज आएर किन अनुमोदन गर्नुभयो ?

 

२०७२ सालमा भारतले गरेको ६ महिना लामो नाकाबन्दीको बेला तपाईंलाई नेपाली जनताले दिएको समर्थन र त्यसबाट आर्जित राष्ट्रवादी व्यक्तित्वको प्रभावले नेकपा (एमाले) संसद्मा सबभन्दा ठूलो पार्टी बनेको केही समय बित्न नपाउँदै भारत जान हतारिएबाट तपाईंले नेपाली जनताको राष्ट्रवादी अडानमाथि निर्मम प्रहार गर्नुभएको अनुभूति धेरैलाई भएको छ ।

 

तपाईंले नाकाबन्दीका बेला लिएको अडानको हिमशिला तपाईंको पैतालामुनि यसरी पग्लिएको छ कि त्यसले आफ्नो आकार पूरै गुमाइसकेको छ । तर तपाईं अब भारत जानबाट आफूलाई रोक्न सक्ने स्थितिमा हुनुहुन्न । त्यसैले म आज तपाईंका कानमा दुई तीनवटा विषयका कुरा सुनाउने धृष्टता गर्दछु । 


पहिलो कुरा, नेपाल–भारत सम्बन्धको सबभन्दा ठूलो तगारो सुगौली सन्धि हो । सुगौली सन्धिलाई सन् १९५० जुलाई ३१ को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिको धारा ८ ले रद्द गरिसकेको छ । उक्त सन्धिको धारा ८ को अक्षरशः पालना गर्न तपार्इंका भारतीय समकक्षीलाई जोडदार रुपमा आग्रह गर्नुहोस् । 

 

समकक्षी मोदीलाई स्पष्ट शब्दमा भन्नुहोस्, सुगौली सन्धि नेपालले बेलायतसँग गरेको थियो न कि तत्कालीन बङ्गाल वा अवधसँग । भारत वा इन्डिया वा हिन्दूस्तान त सन् १९४७ अगस्त १५ को मध्यरातमा बनेको हो । बेलायतसँग गरेको सन्धि भारतसँग कसरी लागू हुन्छ ? आफ्नो जमिन अर्काले जोतेको टुलुटुृलु हेर्ने हुतीहाराको श्रेणीमा बस्न तपार्इंलाई तपाईंको स्वाभिमानले नदिनुपर्ने हो । यो साहस गर्नुभयो भने तपार्इं अभूतपूर्व रुपमा महान् बन्नुहुनेछ ।


दोस्रो कुरा, कालापानीमा भारतीय अर्धसैनिक बल तैनाथ रहनु नेपालको स्वतन्त्रतामाथिको आक्रमण हो । त्यो नेपाली भूभाग हो । त्यसैले संयुक्त वक्तव्यमा त्यहाँबाट भारतीय अर्ध सैनिक बल तत्काल हट्ने बुँदा समावेश गर्न नभुल्नुहोस् ।


तेस्रो कुरा, आफ्ना समकक्षीसँग अब उप्रान्त नेपाल गोर्खा भर्ती बन्द गर्न चाहन्छ भन्ने हिम्मत गर्नुहोस् । हाम्रा जवान युवा भारतलाई बेचेर हाम्रो स्वाभिमान उँचो रहँदैन । भारतले गोर्खा सेनालाई नेपालको शत्रु राष्ट्र नरहेका चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश विरुद्ध प्रयोग गरिसकेको छ भने कुनै दिन नेपाल विरुद्ध पनि प्रयोग नगर्ला भन्न सकिन्न । 


इतिहासले वा समयले कसैलाई पनि पटक–पटक मौका दिँदैन । अहिले त्यो अवसर तपाईंलाई प्राप्त भएको छ । तपाईंलाई साँच्चै महान् बन्ने अवसर प्राप्त भएको छ । मौका आउँछ पर्खदैन भन्ने उखान तपाईंलाई के सम्झाउनु ? बाँकी तपाईं आफैँ जानिफकार हुनुहुन्छ । तपाईं स्वदेश फर्कँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुष्पगुच्छाले सम्मान गर्ने अवसर दिनुहुनेछ  भन्ने आशाका साथ ।

मिती: २०७४-१२-२२

तपाईंको शुभाकाङ्क्षी
फणीन्द्र नेपाल
अभियन्ता, ग्रेटर नेपाल

राष्ट्रवादी फणीन्द्र नेपाल सन्धि तीन बुँदे

विशेष