News समाज प्रदेश ७

प्रमुख छैनन्, कामकाज ठप्प गरेर अन्य कर्मचारी घाम ताप्दै

प्रमुख छैनन्, कामकाज ठप्प गरेर अन्य कर्मचारी घाम ताप्दै

अछाम । अछामको मंगलसेनस्थित सिंचाई विकास डिभिजन कार्यालय करिब दुई महिनादेखि प्रमुख बिहीन हुँदा कार्यालयको कामकाज प्रभावित बनेको छ । सिंचाई डिभिजन प्रमुख बरुण कुमार कर्ण फागुन ७ गते देखि कार्यालयमा अनुपस्थित हुँदा कार्यालयको दैनिक कामकाज देखि योजनाको सम्झौता, भुक्तानी लगायतका कामकाज प्रभावित भएका हुन्। कार्यालय प्रमुख नहुँदा कर्मचारी दिनभर घाम तापेर दिन काटिरहेका छन्।

 

सिनियर डिभिजन इन्जिनिएरको दरबन्दी रहेको सिंचाई विकास डिभिजन दुई बर्ष पहिले स्थापना भएको हो । यस अवधिमा पाँच जना प्रमुख आइसकेका छन् । कार्यालय प्रमुख अनुपस्थित हुँदा क्रमागत रुपमा रहेका योजनाको नयाँ सम्झौता तथा ठेकेदारको रकम भुक्तानीको काम पुरै रोकिएको सूचना अधिकारी नरेशबहादुर थापाले जानकारी दिए। 

 

केहि योजनाको सम्झौता बिना नै काम सञ्चालन गरिरहेको जानकारी दिदै थापाले रकम भुक्तानी र सम्झौताका लागि आफूहरुलाई दिनहुँ फोन गरेर प्रमुख नभएको खबर सुनाउँदै हैरानी बनेको सुनाए।

 

कार्यालय प्रमुख नहुँदा कर्मचारी मनोमानी ढंगले फिल्ड जाने काम भइरहेको छ । सबै समान तहका कर्मचारी हुँदा कसलाई कता खटाउने र कसले भनेको क-कसले ले मान्ने भन्ने समस्या रहेको थापाले सुनाए ।

 

चैत्र १ गतेबाट नयाँ सारिएको कार्यालय भवनमा फोन लाईन पनि सारिएको छैन भने अन्य सबै व्यवस्थापनको काम पनि लथालिंग छ। पटक पटक कार्यालय प्रमुख फेरबदल भइरहने डिभिजनमा गत आर्थिक बर्ष छ करोडको योजना तथा बजेट स्वीकृती भए पनि जम्मा दुई करोड ७९ लाख बराबर मात्र खर्च भएको छ । लामो समय सम्म प्रमुख अनुपस्थित हुँदा यो वर्ष पनि बजेट खर्च नहुने देखिएको छ। 

विशेष