भेटिएनन् सित्तैमा भात खाइदिने मान्छे
पशुपति क्षेत्रबाट फुटपाथका मगन्तेलाई स्थानान्तरण गरिएपछि मगन्तेको पेटमा तातो भात परोस् भन्ने मनसुवाका साथ दाताद्वारा राखिएका सदावर्त गुठीको भान्सामा भात खाने मानिस नै हुन छाडेको छ।
दैनिक ४० जना मगन्तेका लागि भात पकाइँदै आएको बज्रघरको भान्सामा भात खाइदिने मानिस पाउनै छाडिएको छ।
तत्कालीन प्रधानमन्त्री रणोद्वदी सिंहले खडा गरेको यो सदावर्तमा घिउले झानेको दालसहित भात, तरकारी र अचारको व्यवस्था छ।
खाना खाइसकेपछि सुपारी, ल्वाङ, सुकुमेलसमेत दिइने गरिन्थ्यो। शुक्ल पक्षको सप्तमी तिथितमा तात्तातो खिर भोजन गराउन, सप्तमी श्राद्ध गुठी र राजराजेश्वरीमा दालभात, तरकारी अचारसहितको भोजन गराउने गोतामे गुठीको भान्सामा पनि भात खाइदिने मान्छे पाइन छाडेको छ।