News समाज प्रदेश ६

अल्लोका कपडा बनाउने पेसामा महिलाकाे अाकर्षण बढ्दाे

अल्लोका कपडा बनाउने पेसामा महिलाकाे अाकर्षण बढ्दाे

कालीकोट । जिल्लाको कालिका गाउँपालिका- ३ भर्ताका १८ जना महिलाहरूले अल्लोको कपडा बुनेर मासिक ३५ हजार रुपैयाँसम्म कमाउने गरेका छन्। गाउँमै नै खेर गइरहेको अल्लोलाई प्रशोधन गरेर उनीहरूले मासिक ३५ हजार रुपैयाँसम्म कमाउने गरेका हुन्।  अल्लोबाट विभिन्न प्रकार कपडा बुनेर गाउँमै रोजगारी सिर्जना गरी राम्रो कमाइसमेत महिलाहरूले गर्ने गरेका छन्। 


जंगलमा त्यत्तिकै खेर जाने गरेको अल्लोलाई प्रशोधन गरी समूहमा काम गरी राम्रै कमाइरहेको समूह अध्यक्ष पानसरा रोकामगरले बताइन्। ‘हामीले अल्लो प्रशोधनका लागि समूह बनाएका छौँ। समूहमा काम गर्ने गरेका छौँ’, उनले भनिन्, ‘समूहमा काम गर्ने एक जना महिलाले मासिक ३५ हजारसम्म कमाउँछौँ।’ महिलाले अल्लो प्रशोधन गरेर कोट, पाइन्ट, दौरा, सुरुवाल, टोपी र ज्याकेटलगायतका सामान बनाउने गरेको समूह अध्यक्ष रोकामगरले बताइन्। 


‘अल्लोका विभिन्न प्रकारका कपडा बनाउने गरेका छौँ’, उनले भनिन्, ‘खेर जाने वस्तुबाट पनि पैसा कमाउन सकिँदोरहेछ।’ अल्लोका कपडाको माग जिल्लामा नै अत्यधिक भएका कारण जिल्लाबाहिर बजारीकरण गर्न नसकेको समूह सदस्य रामपुरा मगरले बताइन्। 


‘जिल्लामा नै अल्लोको कपडाको उच्च माग रहेको छ’, उनले भनिन्, ‘जिल्लाबाहिर अहिले पठाउन सकिएको छैन।’ अल्लोका कपडाको मूल्य गाउँमा नै मिटरको ७५० रुपैयाँ पर्ने गरेको र व्यापारीले बजारमा मिटरको तीन हजार ५०० रुपैयाँसम्ममा बेच्ने गरेको स्थानीय भक्तबहादुर रोकामगरले बताए। ‘प्रशोधन केन्द्रले मिटरको ७५० रुपैयाँसम्ममा बेच्ने गरेको छ’, उनले भने, ‘बजारमा व्यापारीले तीन हजार ५०० रुपैयाँसम्ममा बेच्ने गरेका छन्।’


 महिलाहरूले विगतमा के गर्ने, के गर्ने भन्ने अवस्थामा रहेको र अहिले समूह बनाएर अल्लो प्रशोधन केन्द्र खोल्दा रोजगारी र आम्दानी दुवै हुन थालेको समूह अध्यक्ष रोकामगरले बताइन्। ‘विगतमा के काम गरौंँ, के काम गरौँ भन्ने हुन्थ्यो’, उनले भनिन्, ‘अहिले अल्लो प्रशोधन केन्द्र खोलेपछि स्वरोजगार बनेका छौँ। राम्रै आम्दानी पनि हुन थालेको छ।’
 

कालीकोट अल्लोका कपडा अाकर्षण

विशेष