शव जलाउने ठाउँ र खानेपानीकाे स्राेत एउटै
घाटकाे पानीले जीवन निर्वाह
केही माथि लास जलाएर बाँकी रहेका काला काठका मुढा छरपस्ट छन् । ती तैरिंदै बगिरहेका छन् । कुनै आधा डुबेका छन्, कुनै पूरै । अँगारका टुक्रा यत्रतत्र देखिन्छन् । त्यसको छेउबाटै मेचीनगर नगरपालिका ३ की गोमा नेपालले निन्दा खोलामा गाग्री डुबाइन र पानी भरिन् ।
उनीजस्तै त्यस तिम्सेनीबासी सधैं यही खोलाको पानी पिउँछन्, प्रयोग गर्छन् । गोमा भन्छिन्, ‘गाउँमा पानीको अरु कुनै स्रोत छैन, यही खोलाको पानी खानुको विकल्प छैन । हामी बाध्य छौं, माथि शव जलाउँछन् भन्ने थाहा भएर पनि थाहा नपाएझैं गरी यहींको पानी खानुपरेको छ ।’
चुरे क्षेत्रको फेदीमा पर्ने इलामसँगको सीमावर्ती झापाको एक गाउँ हो तिम्सिने । झापाकै विकसित नगरमध्ये एक मेचीनगर नगरपालिका क्षेत्रभित्र पर्ने सो गाउँमा खानेपानीको संकट विगतदेखिकै हो ।
त्यस गाउँका स्थानीय भन्छन्, ‘बिहानै पानी लिन खोलामा जानुपर्छ, नत्र लास ल्याइहाल्छन् अनि पानी खानै पाइँदैन ।’ उनीहरु गुनासो गर्छन्, बिहानै लास ल्याए भने त दिनभरि पानी नखाई बस्नुपर्छ, त्यसरी लास जलाएको देखीदेखी त कसरी मुखमा पानी हाल्नु ?’
तर उनीहरुको बाध्यता छ । त्यहाँको पानी नखाए कहाँ खोज्न जाने ? अन्त कतै पानीको स्रोत पनि छैन । विगतमा सो गाउँका बासिन्दाले भालुखोपबाट पाइपमार्फत पानी ल्याए पनि कतिपय घरमा पुग्न सकेन । पुगको स्थानमा पनि पानीट्यांकी मर्मत नहुँदा पानी पनि आउन छोड्यो ।
उक्त क्षेत्र नगरपालिकामा पर्ने भए पनि यसको हालत हेर्दा निकै दुर्गम दूरदराजको गाउँजस्तो देखिन्छ । जननिर्वाचित प्रतिनिधिसमक्ष उक्त कुरा बताए पनि कतैबाट गुनासो सुनुवाइ नभएको त्यहाँका एक स्थानीय तिलकबहादुर सोङमेनले बताए ।
यतिमात्र नभई खोलाबाट पानी बोक्नुपर्ने भएकाले कतिपय विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको छ । सबेरै पानी बोक्न जानुपर्ने हुँदा बिहान स्कुल लाग्ने समयमा विद्यार्थीको पढाइ छुट्ने गरेको छ ।
स्थानीय तहले भने पानीको समस्या चाँडै हल हुने बताउँदै आएको छ । मेचीनगरका वडाध्यक्ष हर्क बस्नेतले योजना बनाएरै पानी ल्याउने बताएका छन् । सोही आशामा अहिलेसम्म गाउँका दुई दर्जन स्थानीय परिवार शुद्ध र सहज खानेपानीको आशामा बसिरहेका छन् । अन्नपूर्ण पाेस्टबाट