८० रूपैयाँ तिर्न हजाराैं खर्च
भाेजपुर । स्थानीय तह गठन भए पनि भोजपुरका विकट तथा दुर्गम क्षेत्रका सेवाग्राहीमा विद्युत महसुलभन्दा बढी रकम आजाउमै खर्च गर्नुपर्ने बाध्यता आएको छ ।
यस्ता दुर्गम भेगका स्थानीय उपभोक्तालाई महसुल बुझाउन महसुलभन्दा कैयौं गुणा बढी रकम खर्चिनुपर्ने बाध्यता आएको त्यहाँका स्थानीय उपभोक्ता बताउँछन् ।
एक महिनाको महसुल बुझाउन घनटौं हिँडेर दुई दिनसम्म होटलमा बसी लाइन लाग्नुपर्ने बाध्यता रहेको सेवाग्राही बताउँछन् ।
पायक पर्ने स्थानमा महसुल संकलन गर्ने केन्द्र नहुँदा निकै ठूलो समस्या पर्ने गरेको षडानन्द नगरपालिका देउरालीका विकास राई भन्छन् ।
सदरमुकामदेखि ६६ किलोमिटर पूर्वीजरायोटार, चरम्बी, च्यांग्रे, चम्पे, याङपाङ, याकु र प्याउलीकाउपभोक्ता बढी मारमा परेका छन् । उनीहरु जिल्ला सदरमुकामकै प्राधिकरण जाने गर्छन् भने, उत्तरी क्षेत्र साङपाङलगायत उपभोक्ता छिमेकी जिल्ला संखुवासभा जान बाध्य छन् ।
उनीहरु सबैको एउटै भनाइ छ – महसुलभन्दा त आउजाउमै कैयौं धेरै खर्च हुन्छ, यस्तो हुँदा त बत्ती बाल्नु र नबाल्नुमा के फरक भयो र ?
यस समस्याबारे प्राधिकरणलाई पटक पटक अनुरोध गर्दा पनि स्थानीयस्तरमा काउन्टर खोल्न सकेको छैन । प्राधिकरण भोजपुर शाखाले यसबारे पटकपटक सम्बोधन गर्ने बताउँदै आश्वासन दिँदै आएको छ ।
प्राधिकरणले ६ महिना र वार्षिक रुपमा महसुल बुझाउने योजना ल्याएर भए पनि यसको समाधान गरिने बताएको छ । बिल काउन्टर थप्ने कार्य भइरहेको बताउँदै भोजपुर शाखाले अहिलेलाई जग्गा छनोटको समेत काम भइरहेको बताए ।
अन्नपूर्ण पाेस्टबाट