News प्रोफाइल स्वास्थ्य प्रदेश ७

उमेर ४१ वर्ष, रक्तदान ५० अाैं पटक

उमेर ४१ वर्ष, रक्तदान ५० अाैं पटक

बेनी । मानिसहरु धर्मका लागि मन्दिरमा जान्छन्, देवतालाई पुज्छन्, दान गर्छन् र आत्मसन्तुष्टि लिने गर्छन्। तर, अरुलाई सहयोग गर्ने र आफ्नै शरीरको रगत दिएर अरुलाई बचाउने मानिस भने विरलै पाइन्छन्। यिनै विरलै पाइने मानिसमध्येका एक हुन् म्याग्दीका सुरत केसी। 

 

४१ वर्षीय केसीलाई म्याग्दीका नागरिकले‘म्याग्दीका दधिचि’ (अरुका लागि आफ्नो शरीरको अङ्गसमेत काटेर दिनसक्ने दानी व्यक्ति) भनेर सम्झिन्छन्।

 

२०५४ सालमा महेन्द्ररत्न क्याम्पस ताहाचलमा अध्ययनरत रहँदा पहिलो पटक रक्तदान गरेको बताउने केसीले अहिलेसम्म ५० पटक रक्तदान गरिसकेका छन्। 

 

हालसम्म रक्तदाता केसी हाइपोप्लाष्टिक एनिमिया भएर थलिएका, क्यान्सर भएर किमो चढाउनुपर्ने अवस्थामा पुगेका, शल्यक्रिया गरेर सुत्केरी गराउनुपर्ने महिला, गाडी दुर्घटना भएकालगायत दर्जनौँ व्यक्तिलाई आफ्नो रगत दिएको सम्झिन्छन्।

 

सामान्यतयाः रक्तदान गरेको ३ महिनापछि मात्र पुनः रक्तदान गर्न मिल्ने चिकित्सकको परामर्श रहने गर्छ। तर कतिपय अवस्थामा बिरामीहरुको गम्भीर अवस्थाको मध्यनजर गर्दै केसीले ३ महिना नपुग्दै पुनः रक्तदान गरेका पनि छन्। उनले यस्तै अवस्थामा गत चैत १८ गते एकजना युवतीको ज्यान बचाएका छन्। 

 

केसीको रगत ‘ए’ प्लस समूहको हो। रक्त सञ्चार केन्द्र बेनीमा ‘ए’ प्लस समूहको ८ प्वाइन्ट रगत हुँदाहुँदै पनि ‘प्लेटलेट्स’ बढी भएका तथा ७० किलोभन्दा बढी वजन भएका व्यक्तिको रगत आवश्यक परेपछि केसीले ती युवतीलाई रक्तदान गरेका थिए।

 

सो रक्तदानसँगै उनको जिल्लामा सबैभन्दा बढी रक्तदान गर्ने व्यक्तिकोसमेत परिचय बनेको छ।

 

केसी उदार हृदय भएका सहयोगी मान्छे भनेर उनलाई नजिकबाट चिन्नेहरुले बताउँछन्। अनेरास्ववियुका केन्द्रीय सदस्य प्रकाश पौडेलले केसीलाई अरुको दुःख देख्नै नसक्ने र आफ्नो सुखको ख्यालै नगर्ने ‘विन्दास मान्छे’ को रुपमा चिन्ने गरेको बताए।

 

केसी पत्रकार महासंघ म्याग्दीको पूर्व अध्यक्षसमेत हुन्। यातायात व्यवसायी र माउण्ट एभरेष्ट आवासीय माविका सञ्चालकसमेत रहेका केसी नेपाल रेडक्रस सोसाइटी म्याग्दीमा समेत आवद्ध छन्। 

विशेष