News

राजनीतिज्ञ एवं साहित्यकार रेग्मीकाे निधन

राजनीतिज्ञ एवं साहित्यकार रेग्मीकाे निधन

काठमाडाैं । वरिष्ठ साहित्यकार तथा राजनीतिज्ञ कमलराज रेग्मीको निधन भएको छ । काठमाडौंमा रहेको आफ्नै निवासमा बिहीबार बिहान उनको निधन भएको हो ।


पाल्पाको मेहल्धारामा जन्मिएका रेग्मी २००४ सालमा जयतु संस्कृतम् आन्दोलनमा सहभागी भएका थिए । उनी २००८ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्य भएका भएका थिए । २०१५ सालमा भएको पहिलो संसदीय चुनावमा उनी पाल्पाबाट निर्वाचित भएका थिए ।
 

उनी विसं २००४ सालको जयतु संस्कृतम आन्दोलनका अगुवामध्ये एक थिए । जयतु संस्कृतम आन्दोलन विसं २००४ मा तीनधारा संस्कृत पाठशालाका विद्यार्थीहरूले पाठशालामा भूगोल, इतिहास, अर्थशास्त्रजस्ता विषय समावेश गर्नुपर्छ भनी सुरू गरेको आन्दोलन हो । तर निरंकुश राणा शासकहरूलाई यी माग मन परेन र विद्यार्थीमाथि दमन गर्न थाले ।

 

यस आन्दोलनको नेतृत्व श्रीभद्र शर्मा, कमलराज रेग्मी, काशीनाथ गौतम, राजेश्वर देवकोटा, पूर्णप्रसाद ब्राह्मण, अच्युतराज रेग्मीजस्ता व्यक्तिहरूले गरेका थिए । राणाहरूले दमन गरेपछि यी विद्यार्थीहरू बनारस गई राणा विरोधी आन्दोलनमा सक्रिय भए ।

 

रेग्मी साहित्यकार समेत थिए । उनका थुप्रै साहित्यिक कृति प्रकाशित छन् । आमा, म र पाल्पा, बचेरालाई आहार, चन्द्रहाँस, शर्मिष्ठा, पादुका दान, दोस्रो विवाहलगायत कृति उनले लेखेका छन् ।

 

उनलाई‘जयतु संस्कृतम्’आन्दोलनमा लागेबापत राणाहरुले चारभञ्ज्याङ कटाएपछि साहित्यभन्दा राजनीतिमा उनको पहिचान स्थापित भएको थियो । कमलराज रेग्मीको चर्चा नेपालमा मात्रै होइन, भारतमा पनि फैलिएको थियो ।

 

रेग्मी २०१५ सालको संसदीय चुनावमा सांसदमा विजयी हुने एकमात्र कम्युनिस्ट नेता थिए । किसान नेताका रुपमा उनको लोकप्रियता २००७ सालको क्रान्तिसँगै स्थापित र विस्थापित भएको पुराना कम्युनिस्ट नेता मोहनविक्रम सिंह बताउँछन् ।

 

बिर्ता प्रथा, गोदान प्रथा र झाराटण्टाविरुद्ध भएको पाल्पा क्षेत्रको संघर्षमा उनको नेतृत्व, कार्यकुशलता र सोचले महत्वपूर्ण सफलता प्राप्त भएकाे थियो ।

 

तर त्यसको सहभागीको व्यवस्थित लिखत पाल्पाली साहित्यमा नभएकाले उनको योगदानको नजरअन्दाज नभएको सिंहले कमलराज रेग्मीद्वारा लिखित‘आमा, म र पाल्पा’कृतिमा बताएका छन् ।

 

नेपाली साहित्य निधन

विशेष