News समाज

अभिषेक गिरीलाई सार्दा विराटनगर जेलमा आन्दोलन

अभिषेक गिरीलाई सार्दा विराटनगर जेलमा आन्दोलन

विराटनगर । मोरङ जिल्ला कारागारबाट चौकीदार अभिषेक गिरीलाई सरुवा गरिएको भन्दै कैदीबन्दी आन्दोलित भएका छन् । गिरीलाई कारागार प्रशासनले शुक्रबार विराटनगरबाट अन्यत्र सार्न लागेसँगै कारागारका कैदीबन्दीले नाराबाजी गर्दै त्यसको विरोध गरेका हुन् । तर, कारागार प्रशासनले भने गिरीलाई सरुवा गरिएको खुलाउन चाहेन ।


अपरान्हसम्म कारागारको छत र छानामा उक्लिएर कैदीबन्दीले नाराबाजी गर्न थालेपछ जेल परिसरभित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।


विराटनगरको हाटखोलास्थित कारागारका कैदीबैन्दीले चर्को स्वरमा गिरी सरुवाको विरोध गर्दै नारावाजी गर्न थालेपछि सडकमा रमिता हेर्नेको भीड लागेको थियो । भीडका कारण सडकमा आउजाउ गर्न समस्या भई ट्राफिक जाम भएको थियो ।


मोरङ कारागारका जेलर शंकर पौडेलले आफू भर्खरै सरुवा भई विराटनगर आएको र जेलको आन्दोलन तथा चौकीदार गिरीको सरुवाको विषयमा जानकारी नभएको बताए । ‘मलाई यस विषयमा थाहा छैन’, उनले भने । गिरीलाई काठमाडौ सारिएको भनिएपनि पौडेलले यसको पुष्टि गरेनन् ।


प्रहरीले शुक्रबार अपरान्ह ३ बजे ठुलो सुरक्षासहित रातो रंगको कारमा राखेर गिरीलाई जेलबाट बाहिर निकालेको थियो । अवैध सम्पति आर्जन र असुलीलगायत मुद्दामा उनी कारागार चलान भएका हुन ।


जेलमा बसेर पनि आर्थिक कारोबार गरेको र जेलभित्रै कमाई गरेको भन्ने मिथ्या आरोप लगाएर उनलाई जेलबाट सारिएको गिरीकी कान्छी दिदी रिना गिरी दाहालले बताइन ।


‘हामीले भाइको ज्यानको सुरक्षा गरीपाऊँ भन्ने व्यहोराको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत गराई कारागार प्रशासनलाई जानकारी गराएका छौँ’, उनले भनिन् । उनले भाइलाई अझै फसाउन खोजिएको आरोप पनि लगाइन् ।

आन्दोलन अभिषेक गिरी विराटनगर जेल

विशेष