News विदेश

मलेसियाली संसद विघटन हुँदै, ९२ वर्षका नेता फेरी प्रधानमन्त्री बन्ने तयारीमा

मलेसियाली संसद विघटन हुँदै, ९२ वर्षका नेता फेरी प्रधानमन्त्री बन्ने तयारीमा

क्वालालम्पुर । मलेसियाली प्रधानमन्त्रीले शनिबार यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभा  बिघटन गर्ने भएका छन्। 


उनले अर्को संसदीय निर्वाचनका लागि यो संसद विघटन गर्न लागेका हुन् । मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिन भित्रैमा अर्को संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । 


उनले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेका छन् । 


मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले अर्को कार्यकालका लागि पनि आफू निर्वाचनमा उठ्ने योजना बनाएको बताएका छन् । 


शुक्रबार सम्पन्न मन्त्रिपरिषदको एक विशेष बैठकपछि प्रधानमन्त्री रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद बिघटन गर्ने जानकारी दिएका हुन्। 


उनले आफूले शनिबार संसद बिघटनको लागि मलेसियाका राजा सुल्तान मोहम्मद भिको अनुमति लिइसकेको जानकारी सो सम्बोधनका क्रममा दिएका थिए। 


निर्वाचनको मिति भने तोकिएको छैन । तर संसद बिघटन भएपछि मलेसियाको निर्वाचन अयोगले तोक्ने व्यवस्था छ । 


आजै मिति नतोकिएको भए पनि संसदको विघटन भएपछि बढीमा दुई महिनाभित्रमा निर्वाचन गराइसक्नुपर्ने प्रावधान संविधानमा रहेकोले सो निर्वाचन सुनिश्चित नै छ । 

 

मलेसियाली नागरिकहरुले २२२ सदस्यीय यहाँको संसदको तल्लो सदन प्रतिनिधि सभा चयन गर्नेछन् । 


मलेसिया स्वतन्त्र भएपछिका प्राय सबै निर्वाचनहरुमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज् नेशनल अर्गनाइजेसन्ले नै संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ । 


उक्त दलले अर्को एक सानो सत्ता गठबन्धन दल बरिसन नेशनलसँगको सहकार्यमा प्राय हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ । 


उक्त युएमएनओको वर्तमान अध्यक्ष पनि वर्तमान प्रधानमन्त्री रजाक नै हुन्। अहिले पनि यहाँका विश्लेषकहरुले सोही दलले नै सरकार निर्माण गर्न मिल्नेगरी सुविधाजनक बहुमत ल्याउने अनुमान गरेका विश्लेषणहरु गरिरहेका छन् । 


तर यस पटक भने प्रधानमन्त्री रजाकलाई सोही दलका संस्थापक तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्या परेको छ । यसले गर्दा उनको दललाई धक्का लाग्ने सम्भावना पनि ती विश्लेषकहरुले देखेका छन् । 


उनले पार्टीभित्रको विवादपछि सन् २०१६ मा सो युएमएनओ दल छोडेर विपक्षी दलमा गएका थिए। 


महाथिरका कारण प्रधानमन्त्री रजाक पनि विवादमा आएका थिए। उनी मलेसियाका एकजना लोकप्रिय ९२ वर्षीय राजनीतिज्ञ हुन्। रासस/सिन्ह्वा

विशेष