News राजनीति

कांग्रेसमा गुट अदलबदल - देउवा र पौडेलमा को बलियो ?

कांग्रेसमा गुट अदलबदल - देउवा र पौडेलमा को बलियो ?

काठमाडौं । कांग्रेसको १३औँ महाधिवेशनमा पदाधिकारीसहित ६४ खुला केन्द्रीय सदस्यमा शेरबहादुर देउवा पक्षका ३६ र रामचन्द्र पौडेल पक्षका २८ निर्वाचित भएका थिए । देउवा पक्षमा खुमबहादुर खड्का समूह पनि सामेल थियो । 

 

उनको समूहबाट खड्कासहित शंकर भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कँडेल र अजयकुमार चौरसिया पनि थिए । तर, केही दिनअघि खड्काको निधन भएसँगै सो समूहमा रहेका चार सदस्य कुन पक्षतिर लाग्छन् भन्ने बहस कांग्रेसभित्र शुरु भएको छ । 

 

अब पदाधिकारी चयनको प्रस्ताव आए यी नेताहरूले देउवालाई नै साथ दिन्छन् या छुट्टै समूहका रूपमा उभिन्छन् भन्ने टुंगो छैन् । कांग्रेसमा पदाधिकारीको मनोनयन निर्वाचित केन्द्रीय सदस्यले गर्नुपर्ने प्रावधान छ । 

 

महाधिवेशनबाट नेतृत्व चयन भएको दुई महिनाभित्र पार्टी संरचनालाई पूर्णता दिनुपर्ने भए पनि दुई वर्षसम्म अपूर्ण नै छ । निर्वाचन समीक्षा बैठकपछि देउवाले पदाधिकारी चयनको प्रस्ताव ल्याउँछन्÷ल्याउँदैनन् चासोसाथ हेरिएको छ ।

 

संस्थापनकै नेता जो देउवासँग असन्तुष्ट छन्

 

१३औँ महाधिवेशनमा चन्द्र भण्डारीले देउवा पक्षबाट खुला २५ केन्द्रीय सदस्यमा खाता खोलेका थिए । तर, महाधिवेशन भएको दुई वर्ष भइसक्दा उनी संस्थापन पक्षसँग असन्तुष्ट छन् । उनले सार्वजनिक मञ्चबाटै सभापति देउवाविरुद्ध आक्रामक भाषण गर्दै आएका छन् ।

 

 
जितेकामध्ये कुलबहादुर गुरुङ पनि देउवासँग असन्तुष्ट छन् । १३औँ महाधिवेशनमा देउवालाई जिताउनकै लागि गुरुङले गुट फेरेका थिए । तर, दुई वर्षसम्म आफूलाई कुनै भूमिका नदिएपछि उनी देउवासँग रुष्ट छन् । उद्यपि, उनीहरू अर्को पक्षमा पनि स्पष्ट खुलेका भने छैनन् ।

 

पौडेल पक्षका जो देउवातिर लागे

 

१३औँ महाधिवेशनमा पौडेल पक्षबाट जितेकामध्ये चिनकाजी श्रेष्ठ प्रस्टै रूपमा देउवा पक्षतिर लागेका छन् । सुशील कोइराला सभापति र संसदीय दलको नेता हुँदा श्रेष्ठ प्रमुख सचेतक थिए । तर, सुशीलको निधनपछि देउवा संसदीय दलको नेता हुँदा पनि उनले श्रेष्ठलाई फेरेनन् ।

 

देउवाले यसपटक दलको नेता चयनका लागि निर्वाचन समितिको संयोजकसमेत बनाइदिएपछि श्रेष्ठ देउवा पक्षमा रहेको स्पष्ट भएको कांग्रेसका एक केन्द्रीय सदस्य बताउँछन् ।

 

अब के गर्छ खड्का पक्ष ?

खुमबहादुरसहित देउवाको पक्षमा ५ सदस्य रहेकामा अब यो उपगुटमा भण्डारी, भुसाल, कँडेल र बस्नेत मात्रै छन् । यी चारजना फेरि पनि देउवा पक्षमै लागे आफूअनुकूल पदाधिकारी नियुक्त गर्न देउवालाई गाह्रो नपर्ने देखिन्छ । किनभने देउवाको पक्षमा भण्डारी र गुरुङ घटे पनि बहुमत पुग्छ ।

 

खड्काको निधनसँगै यो समूहले छुट्टै गुट चलाउने सम्भावना भने कम देखिन्छ । किनभने उपगुटको नेतृत्वमा समझदारी बन्ने सम्भावना देखिँदैन । यसकारण यी नेताहरू देउवा पक्षमै लाग्ने सम्भावना बढी भएको एक केन्द्रीय सदस्यले बताए । 

 

तर, देउवालाई साथ दिँदा सहमहामन्त्रीसहित जिम्मेवार पद दाबी गर्ने यो समूहको योजना छ ।, नयाँ पत्रिकामा खबर छ ।

नेपाली काँग्रेस शेरबहादुर देउवा नेता रामचन्द्र पौडेल

विशेष