मलेसियाका प्रधानमन्त्रीले शनिबार प्रतिनिधिसभा विघटन गर्ने
मलेसियाली प्रधानमन्त्री नजिक रजाकले शनिबार मलेसियाकाे प्रतिनिधिसभा (संसदको तल्लो सदन) विघटन गर्ने भएका छन्।
उनले अर्काे संसदीय निर्वाचनका लागि संसद विघटन गर्न लागेका हुन्। मलेसियाको संविधानमा संसद विघटन गरेपछि त्यसको बढीमा ६० दिनभित्रै अर्काे संसदको निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ।
उनले आगामी कार्यकालका लागि पनि प्रधानमन्त्रीको उम्मेदवार हुने अपेक्षा गरेका छन्। मलेसियाली सञ्चारमाध्यमहरुले प्रधानमन्त्री रजाकले अर्काे कार्यकालका लागि पनि आफू निर्वाचनमा उठ्ने योजना बताएको उल्लेख गरेका छन्।
शुक्रबार सम्पन्न मन्त्रिपरिषदको एक विशेष बैठकपछि प्रधानमन्त्री रजाकले राष्ट्रका नाममा सम्बोधन गर्दै आफूले शनिबार संसद विघटन गर्ने जानकारी दिए। संसद विघटनको लागि मलेसियाका राजा सुल्तान मोहम्मद भिको अनुमति लिइसकेको उनको भनाइ छ।
मलेसियाली नागरिकहरुले २२२ सदस्यीय यहाँको संसदको तल्लो सदन प्रतिनिधिसभा चयन गर्नेछन्। मलेसिया स्वतन्त्र भएपछिका प्रायः सबै निर्वाचनहरुमा नै मलेसियाली राजनीतिक दल युनाइटेड मलायाज् नेशनल अर्गनाइजेसनले नै संसदीय निर्वाचनमा जित हात पार्दै आएको छ।
उक्त दलले अर्काे एक सानो सत्ता गठबन्धन दल बरिसन नेशनलसँगको सहकार्यमा प्राय हरेक संसदीय निर्वाचन जितेर शासन गर्दै आएको छ।
उक्त युएमएनओको वर्तमान अध्यक्ष पनि वर्तमान प्रधानमन्त्री रजाक नै हुन्। अहिले पनि यहाँका विश्लेषकहरुले सोही दलले नै सरकार निर्माण गर्न मिल्नेगरी सुविधाजनक बहुमत ल्याउने अनुमान गरेका विश्लेषणहरु गरिरहेका छन्।
तर यस पटक भने प्रधानमन्त्री रजाकलाई सोही दलका संस्थापक तथा आधुनिक मलेसियाका विकासका अगुवा महाथिर मोहम्मदका कारण समस्या परेको छ।
मलेसिया