जुम्लाबासीमा हृदयघातको जोखिम बढ्दो
जम्ला । वरिष्ठ मुटुरोग विशेष डा.भगवान कोइरालाले जुम्लामा कम उमेरमा हृदयाघात हुने रोगको जोखिम बढेको बताएका छन्।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र मनमोहन कार्डियो भास्कुलर थेरापी काठमाडौँद्वारा आयोजित दुईदिने मुटुरोग शिविर सञ्चालनका क्रममा डा.कोइरालाले यस्तो बताएका हुन्।
शिविरमा एक हजार १६८ बिरामीले उपचार सेवा लिएका छन्। उपचारको लागि आउने अधिकांश बिरामी कम उमेरमै उच्च रक्तचाप भएका पाइएको कोइरालाले जानकारी दिए।
शिविरमा जाँच गरिएकामध्ये जटिल समस्याका ५० बिरामीलाई काठमाडौँ सिफारिश गरिएको छ। सिफारिश भएका बिरामीलाई शहीद गंगालाल हृदयरोग केन्द्र काठमाडौँमा एक लाख रुपैयाँ बराबरको उपचार सहयोग हुने डा.कोइरालाले जानकारी दिए।
प्रतिष्ठानसँगको समन्वयमा सञ्चालित शिविरबाट जुम्लीको दुई करोड ४० लाख रुपैयाँ खर्च हुन जोगिएको छ ।
शिविर समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की र चन्दननाथ नगरपालिकाका प्रमुख कान्तिका सेजुवालले प्रतिष्ठानको संस्थागत विकासका लागि स्थानीय सरकार प्रतिबद्ध भएको बताए ।
शिविरमा मुटुरोग विशेषज्ञ डा. कोइरालासहित सात जनाको टोलीले सेवा दिएको थियो।