तीन दिनमा एक दिनमात्र अाउँछ बिजुली
बझाङ । सदरमुकाम चैनपुरमा विद्युत् आपूर्ति नियमित नहुँदा स्थानीयबासी समस्यामा परेका छन् । जिल्लाकै मुख्य व्यापारिक केन्द्र चैनपुरमा तीन दिनमा एक दिनमात्र बिजुली आउने गरेको स्थानीयबासीले बताएका छन् ।
विद्युत् आपूर्ति नियमित नहुँदा उद्योगी, व्यापारी र विद्यार्थी सबैभन्दा बढी मारमा परेका छन् । ग्रामीण बस्तीमा नियमित बिजुली आउने गरेको भए पनि सदरमुकाममा भने तीन दिनमा एक दिनमात्र आउने गरेको छ ।
नदीमा पानीको सतह घटेकाले नियमित विद्युत् आपूर्ति गर्न नसकिएको सुर्मादेवी विद्युत् प्रालिले जनाएको छ । २ सय किलोवाट क्षमता भए पनि पानी नभएका कारण अहिले आयोजनाबाट ६५ किलोवाट मात्र विद्युत् उत्पादन भइरहेको छ ।
२०४५ सालमा निर्माण गरिएको यो विद्युत् आयोजना जापान सहयोग नियोगको अनुदान सहयोगमा एक वर्ष अघिमात्र मर्मत गरिएको थियो । आयोजना मर्मत गर्न ८५ करोड रुपैयाँ खर्च गरिएको थियो ।