News मनोरञ्जन पर्यटन प्रदेश ३

जर्मन दम्पतीकाे जंको

जर्मन दम्पतीकाे जंको

भक्तपुर । विदेशी पर्यटक नेपाल आएर फागु खेलेको, जात्रामा रमाएको, भाइटीका लगाएको अधिकांश नेपालीले देख्दै आएका हुन्। 

 

आइतबार भने पहिलोपटक भक्तपुरबासीले नेवार समुदायको मौलिक पर्व भीमरथारोहण जंकोमा सहभागी भएर विदेशी पर्यटक रमाएको देख्न पाएका छन्। 

 

जर्मनीको ब्रेमन सहरबाट २२ आफन्तसहित भक्तपुर आएका ७७ वर्षीय पिटर हेस परम्परागत नेवारी पहिरनमा सजिएर पत्नी एमेलीसँगै भीमरथारोहणमा सहभागी भएका हुन्। 

 

नेवारी संस्कारमा ७७ वर्ष उमेर पार गरेपछि वृद्धवृद्धालाई रथमा राखेर गाउँ–टोल परिक्रमा गराउने परम्परा छ। यस्तो संस्कारलाई जंको अर्थात् भीमरथारोहण भनिन्छ। 

 

नेवारी संस्कृतिअनुसार जंको गर्ने व्यक्ति पुरुष भए उनकी पत्नीको स्वतः जंको हुन्छ। त्यही नियमअनुसार हेसकी पत्नी एमेली भीमरथारोहणमा सहभागी भएकी हुन्। 

 

दौरासुरुवाल, इस्टकोट र ढाका टोपीमा सजिएका पिटर र चौबन्दी चोलो, नौगेडी र शिरफूलमा सजिएकी एमेलीलाई परम्परागत पहिरनमा सजिएका नेवार बालबालिकाले रथमा राखेर तानेका थिए। 

 

धिमेबाजा र बाँसुरीको धुनमा नगर परिक्रमा गराउँदा एमेली दुलहीझैं देखिन्थिन्। ‘हाम्रो देशमा उमेर बढेपछि हर्षित हुने चलन छैन,’ पिटरले भने, ‘यहाँ भने बूढो भएपछि उत्सव मनाउने चलन रहेछ।’

 

 यस्ता उत्सवले बुढेसकाल रमाइलो बनाउने उनको बुझाइ छ । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

जर्मन दम्पती पिटर हेस एमेली

विशेष