News भिडियो

रमेश खरेलको दाबीः आईजीपी मै बन्छु, कसैले रोक्न सक्दैन (भिडियाे)

रमेश खरेलको दाबीः आईजीपी मै बन्छु, कसैले रोक्न सक्दैन (भिडियाे)

काठमाडौं । अबको प्रहरी आईजीपी को बन्ला ? भन्ने विषयले यतिबेला चर्चा पाएको छ । बरिष्ठताको आधारमा सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्की आईजीपीका लागि दाबेदार हुन् । 

 

खनाल, खरेल र कार्की तीनै जना डिआईजीहरु भने पछिल्लो समय शक्तिकेन्द्र धाउन थालेका छन् । प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादृुर थापा बादलकहाँ पुगेरै उनीहरुले लबी गर्दैआएका हुन् ।

 

सरकार भने अघिल्लो सरकारको कमजोरीबाट पाठ सिक्दै यस विषयमा आफूलाई जोगाउन खोजेको देखिन्छ । प्रधानमन्त्री ओलीले पटक पटक ‘शक्ति केन्द्र नधाउन’ कर्मचारी तथा नेतालाई समेत भन्दैआएका छन् ।


खरेलको दाबी
‘सेलिब्रिटी’ डिआईजी रमेश खरेलले भने केही वर्ष अघि वरिष्ठ उपरीक्षक हुदा  नेपालआजसँग आफू आईजिपी बन्ने दाबी गरेका थिए । तत्कालिन वरिष्ठ उपरीक्षक खरेलले आफ्नो क्षमता र लगनशीलताका कारण आईजीपी बन्ने दाबी गरेका थिए ।

 

‘यस्तै अवस्था रहँदा म प्रमुख पदमा पुग्छु । कसैले रोक्न सक्दैन,’ खरेलले नेपालआजसँग भनेका थिए, ‘म प्रहरी सेवामा सुरु गर्दा नै आफ्नो क्षमता र साहश देखाएर आएको हुँ । आफूलाई पुष्टि गरिसकेको छु ।’

 

त्यसो त खरेलल एसपी छँदा नै उनको ब्यापक चर्चा थियो । गुण्डागर्दी रोक्ने काममा उनले गरेका केही कारवाहीपछि उनको चर्चा आम जनताले नै गर्न थाले । प्रहरी प्रशासनभित्रै भ्रष्टाचार र अनियमितता रहेको भन्दै चर्चामा पनि रहे उनी ।

 

पछिल्लो समय खरेलसँग नेपालआजले यही विषयमा कुरा गर्न खोज्दा भने यस विषयमा फेरि बोल्न तयार भएनन् । स्रोतका अनुसार खरेल अहिले बाहिर चर्चामा आउन चाहदैनन। 

 

उत्कृष्टताको आधारमा क्रमशः सर्वेन्द्र खनाल, रमेश खरेल र कार्की प्रहरी महानिरिक्षकका प्रतिष्पर्धी हुन् । सरकार भने प्रहरीको विषयलाई पहिले झैँ विवाद बनाउने मूडमा छैन । प्रधानमन्त्री आफैँले प्रहरी अधिकृतहरुलाई आफैँ मिलेर आउन आग्रह गरेको बुझिएको छ ।

 

प्रहरी प्रशासनमा भने नदेखिने गरी आआफ्नै ‘गुट’को संस्कार बसिसकेको छ । खनाल, खरेल र कार्कीले आआफ्नै गुट बनाएर आफ्नो पक्षमा माहोल बनाउन थालेका छन् । यसरी हेर्दा खनाल, खरेल र कार्की तीनै जनाको आआफ्नै विशिष्ठता छ ।

रमेश खरेल नेपाल प्रहरी आईजीपी पुष्कर कार्की सर्वेन्द्र खनाल

विशेष