विदेश प्रवास

फ्रान्सका राष्ट्रपतिले दिएको उपहार ह्वाइट हाउसबाट गायब

फ्रान्सका राष्ट्रपतिले दिएको उपहार ह्वाइट हाउसबाट गायब

काठमाडौं । फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले उनका अमेरिकी समकक्षी डोनल्ड ट्रम्पलाई उपहारस्वरुप दिएको बिरुवा एकाएक गायब भएको छ।

 

उत्तर-पूर्वी फ्रान्समा प्रथम विश्व युद्धको लडाइँ भएको एउटा स्थानबाट ल्याइएको त्यो बिरुवालाई गत साता ट्रम्प र म्याक्रों मिलेर ह्वाइट हाउसको प्राङ्गणमा रोपेका थिए।

 

म्याक्रोंले त्यो बिरुवा दुई देशबीचको सम्बन्धको प्रतीकू हुने बताएका थिए। तर, रोयटर्स समाचार संस्थाका एक फोटो पत्रकारले शनिबार त्यस क्षेत्रमा पहेँलो घाँस मात्र देखिएको एक तस्वीर खिचेका थिए।

 

युरोपेली 'सेसील ओक' नामक खस्रु जातको त्यो बिरुवा सन् १९१८ मा युद्ध भएको फ्रान्सको बेलो वुडबाट ल्याइएको थियो। त्यहाँको लडाइँमा करिब २,००० अमेरिकी सैनिकको ज्यान गएको थियो।

 

बिरुवा हराउनुमा विभिन्न चर्चा परिचर्चाका बीच एक फ्रान्सेली रेडियो नेटवर्क फ्रान्सइन्फोले उक्त बिरुवा शरद् ऋतुमा उम्रने भएकाले त्यसलाई पछि पुनः देख्न सकिने अनुमान गरेको छ ।

ह्वाइट हाउस उपहार फ्रान्सका राष्ट्रपति

विशेष