News Breaking News मुख्य समाचार

३३ किलो सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सुरू

३३ किलो सुन तस्करी र सनम हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सुरू

मोरङ । तस्करीको ३३ किलो सुनकाण्ड र सनम शाक्य हत्याकाण्डका अभियुक्तबारे थुनछेक बहस सुरू भएको छ।

 

जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश नारायण प्रसाद शर्माको इजलासमा आज सरकारी वकिलले बहस सुरू गरेका छन्। यो मुद्दामा ८ सरकारी वकिलको टिम बनेको छ। उनीहरूले अभियुक्तहरूलाई थुनामा राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने भन्ने बहस गर्ने छन्।

 

मोरङ सरकारी वकिल कार्यालयका प्रमुख पुण्यप्रसाद पाठकका अनुसार सुनकाण्डमा बहस गर्न सहन्यायाधीवक्ता गोपाल रिजाल, चिरन्जीवी पराजुली, उपन्यायाधीवक्ता हिमालय त्रिताल, मनोज आचार्य, जिल्ला न्यायाधीवक्ता पुण्य प्रसाद सापकोटा,पुण्यप्रसाद पाठक, सहायक जिल्ला न्यायाधीवक्ता रोहित पोखरेल र पदम वस्ती गरी ८ सरकारी वकिलको टिम बनेको हो।

 

प्रहरीले पक्राउ गरी अदालत पुर्‍याएका ३० अभियुक्तका तर्फबाट बहस गर्न नाम लेखाउने वकिलको संख्या भने अहिलेसम्म ७९ पुगेको छ। उनीहरूले अभियुक्तको पक्षमा वकालत गर्ने छन्।

 

अभियुक्त तुलाराम थारूका तर्फबाट बहस गर्न लागेका अधिवक्ता भरतबहादुर थापाका अनुसार अहिलेसम्म वकालत नामा गर्नेहरू ५ वरिष्ठ अधिवक्ता र अरु अधिवक्ता छन्। वरिष्ठ अधिवक्ताहरू रमेश कोइराला, हिक्मत पौडेल, विपुलेन्द्र चक्रवर्ती, सुरेशलाल श्रेष्ठ, राजेन्द्र भट्टराईले अभियुक्तका पक्षबाट बहस गर्न वकालत नामा गरेका छन्।

 

थापाका अनुसार अधिवक्ताहरू देवीबहादुर घिमिरे, हेमराज पन्त, विकास थापा, देवेन्द्र कोइराला, नारायण वस्ती, रामप्रसाद भण्डारी,शान्तिराम भण्डारी, लगायत ७९ जनाले अभियुक्तका तर्फबाट बहस गर्नेछन्। एक हप्ताअघि जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा सुरू भएको अभियुक्तको बयान मंगलबार साँझ सकिएको थियो।

 

सबैले प्रहरी र छानबिन समक्ष गरेको बयानभन्दा फरक बयान दिएको जिल्ला न्यायाधीवक्ता पाठकले बताए। जिल्ला सरकारी वकिल कार्यालय मोरङले सुन तस्करीमा संलग्न भएको भन्दै नेपाल प्रहरीका ९ अधिकारी र तस्करको समूह गरी ६३ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

 

६३ मध्ये पक्राउ परेका ३० अभियुक्तको बयान सकिएको हो। तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको समितिले २०७० सालयता चुणामणि उप्रेतीको समूहले झन्डै ३८ क्विन्टल (३७ लाख ९९ हजार ५ सय ५९ ग्राम) सुन तस्करीमार्फत नेपाल भित्रिएको निष्कर्ष निकालेको थियो।

 

यही निष्कर्षका आधारमा जिल्ला सरकारी वकिलको कार्यालले ९ प्रहरीसहित ६३ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो। उनीहरूसँग १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४१३ रुपैयाँ ९० पैसाको बिगो माग गरिएको छ।

 

जिल्ला सरकारी वकिलको कार्यालयले बुधबार जिल्ला अदालत मोरङमा दायर गरेको मुद्दाको अभियोगपत्रमा चुडामणि उप्रेती ‘गोरे’ को समूहले मात्र यो झण्डै ३८ क्विण्टल सुन तस्करी गरेको उल्लेख छ।

३३ किलो सुनकाण्ड सनम शाक्य हत्याकाण्ड

विशेष