News रोजगार

सिन्डिकेट खारेज हुँदा रोजगारीको चिन्ता

सिन्डिकेट खारेज हुँदा रोजगारीको चिन्ता

दाङ । सरकारले सिन्डिकेटका नाममा यातायात समितिहरू खारेज गरेपछि घरको न घाटको भएको भन्दै कार्यरत कर्मचारीहरू आन्दोलित भएका छन्।शुक्रबार दाङको तुलसीपुरमा भेला भएका अञ्चल भरिका यातायात ब्यवसायी समितिमा कार्यरत कर्मचारीहरू आफ्नो हकहित र रोजगारीको सुनिश्चितताको जोडदार माग गरेका छन्।

 

सरकारले आफ्नो हकहित र रोजगारीको सुनिश्चिता नगरे चरणवद्ध आन्दोलनमा चेतावनी दिएका छन्। राप्ती बस समिति कर्मचारी युनियनका अध्यक्ष सिन्डिकेट तोडने नाममा सरकारले हचुवाको भरमा हजारौँ मजदुर र कर्मचारीको पेशा खोसेर बेरोजगारी श्रृजना गर्न बर्तमान सरकार लागी परेको आरोप लगाए। 

 

अध्यक्ष योगीको अध्यक्षतामा बसेको भेलाले कर्मचारी हकहित सङघर्ष समितिसमेत गठन गरेको छ। उनकै संयोजकत्वमा नौ सदस्यीय सङघर्ष समितिसमेत विस्तार गरिएको छ। समितिमा अञ्चल भरिका सबै समितिका कर्मचारीहरु सदस्य रहेका छन्। 

 

भेलामा राप्ती समितिका कार्यालय प्रमुख सिताराम शर्मा, तुलसिपुर जिप तथा मिनि माईक्रो समितिका कार्यालय प्रमुख जीतबहादुर खड्का, सल्यान रुकुम यातायात समितिका कार्यालय प्रमुख तिर्थराज धिताल, अम्बिकेश्वरी यातायातका चित्रबहादुर बस्नेत, जलजला यातायातका कार्यालय प्रमुख धर्मेन्द्र कवर, साना मालबाहक समितिका मदन कुमार श्रेष्ठ, दाङ जिल्ला ट्याक्टर समितिका प्रकाश रिजाललगायतले सरकारले उचित व्यवस्थापन नगरे नेपालको यातायातका क्षेत्र ठप्प पार्ने चेतावनी दिएका हुन्। 

 

राप्ती अञ्चलभित्र मात्रै एकहजार बढी कर्मचारीहरु विभिन्न समितिहरूमा कार्यरत रहेका छन्।
 

यातायात सिन्डिकेट खारेज रोजगारीको चिन्ता

विशेष