News प्रदेश २

सीता-रामको जन्मस्थलमा बस सेवाबाट जोडियो

सीता-रामको जन्मस्थलमा बस सेवाबाट जोडियो

जनकपुरधाम । सीताको जन्मस्थल जनकपुर र रामको जन्मस्थल अयोध्यासम्म शुक्रबारबाट बस सेवा सुरु भएको छ ।

 

जनकपुरधामको जानकी मन्दिरबाट अयोध्या जाने बस सेवाको प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हरियो झण्डा देखाएर संयुक्त रुपमा शुभारम्भ गरेका छन् ।

 

शुक्रबार जनकपुरबाट प्रस्थान गरेको बसलाई शनिबार उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अयोध्यामा स्वागत गर्नेछन् । सीता र राम रामायणको प्रमुख पात्र हुन् जसलाई हिन्दूहरुले भगवानको रुपमा पुज्ने गर्दछन् । 


त्रेता युगमा जनकपुरका राजा जनककी छोरी सीताको बिहे भारत अयोध्याका रामसँग भएको थियो । त्यसको स्मरण गर्दै हरेक वर्ष रामनवमीको दिन अयोध्याबाट रामको जन्ती आउने र सीतालाई बिहे गरेर लैजाने परम्परा अझै कायम छ ।

 

रामको ससुराली जनकपुरबाट बस सेवा सुरु भएपछि जनकपुर पनि ‘रामायण सर्किट’मा औपचारिक रुपमा जोडिएको छ ।  अब हरेक वर्ष भारतको अयोध्यामा ‘जनकपुर महोत्सव’ र जनकपुरमा ‘अयोध्या महोत्सव’ गर्ने योजना छ ।

 

भारतको पर्यटन मन्त्रालयले भारतका १५ वटा धार्मिकस्थललाई जोड्ने उद्देश्यसहित रामायण सर्किटको अवधारणा ल्याएको थियो, जसमा नेपालको जनकपुरलाई पनि समेटिएको छ ।

 

राम जन्ती लिएर जनकपुर आएको र बिहे गरेर सीतालाई लिएर अयोध्या फर्किएको बाटोमा पर्ने तीर्थस्थलको विकास गर्ने उद्देश्य रामायण सर्किटको छ ।

बस सेवा सीता-राम

विशेष