पत्रकार श्रेष्ठद्वारा बेइजिङमा एकल फोटो प्रदर्शनी

बेइजिङ । राष्ट्रिय समाचार समितिका फोटो पत्रकार रत्नकृष्ण श्रेष्ठले चीनको राजधानी बेइजिङमा एकल फोटो प्रदर्शनी गरेका छन्।
बेइजिङको नानछेन रोड, नान फासिनचन, शुनयीस्थित रिसर्च एण्ड ट्रेनिङ ईन्स्टिच्यूटमा मिडिया र प्रेससम्बन्धी चीन सरकारको तालीम र प्रशिक्षण केन्द्रमा उक्त प्रदर्शनी गरिएको हो।
‘डिजिटल डिस्प्ले’ मार्फत गरिएको उक्त प्रदर्शनीमा फोटो पत्रकार श्रेष्ठका तीन दर्जन भन्दा बढी फोटो प्रदर्शनीमा राखिएको छ। चीन सरकारको निमन्त्रणामा चीन पुगेका नेपालका विभिन्न सञ्चारमाध्यममा कार्यरत २१ सञ्चारकर्मीको प्रशिक्षण टोलीमा श्रेष्ठ पनि सहभागी छन्।
फोटो प्रदर्शनी लोकप्रिय रहेको र प्रदर्शनीका माध्यमबाट चिनियाँ जनतालाई नेपालको कला, संस्कृति, जीवनशैली, पर्यटकीय क्षेत्र तथा नेपाल चीन सम्बन्धका बारेमा थप कुरा जान्न सहयोगी हुने नेपाल पत्रकार महासंघका पूर्वसभापति धर्मेन्द्र झाले बताए।
फोटो प्रदर्शनी आगामी जेठ ६ गतेसम्म हुने फोटो पत्रकार श्रेष्ठले जानकारी दिए।