News देश प्रदेश ७

साँफेबगर विमानस्थल कालोपत्रे हुँदै

साँफेबगर विमानस्थल कालोपत्रे हुँदै

अछाम । साँफेबगर विमानस्थलमा यतिखेर कालोपत्रेको काम भइरहेको छ । द्वन्द्वकालमा ध्वस्त भएको यो विमानस्थलको काम भइरहँदा स्थानीयवासीलाई हवाईजहाज चढ्ने आशा पनि पलाएको छ । 

 

एक वर्षभित्रै सम्पन्न हुने गरी साँफेबगर विमानस्थलको निर्माण गर्ने जिम्मा अमर कन्ट्रक्सनले पाएको छ । गत चैत ९ गते सम्पन्न हुनुपर्ने विमानस्थलको काम मौसम, स्थानीय, प्रदेश र संघको निर्वाचनका कारण केही ढिलाइ भएको जनाएकोछ । 

 

विमानस्थलको काम सम्पन्न गर्न तीन महिनाको म्याद थपिएको छ । अमर कन्ट्रक्सनले एक महिनाभित्रै विमानस्थलको सम्पूर्ण काम पूरा हुने बताइएको छ । माओवादी आक्रमणका बेला २०५८ फागुनमा टावर ध्वस्त हुँदा बन्द भएको साँफेबगर विमानस्थल केही समय सञ्चालन भए पनि २०६२ देखि पूर्ण रूपमा बन्द छ । 


अवरुद्ध साँफेबगर विमानस्थल सञ्चालनका लागि सरकारले रु ११ करोड १७ लाख बजेट विनियोजन गरेसँगै विमानस्थलको काम सुचारु भइरहेको हो । निर्माण गर्ने जिम्मा पाएको अमर कन्ट्रक्सनका देवीलाल न्यौपाने एक महिनाभित्रै विमानस्थलको सम्पूर्ण काम पूरा हुने बताउँछन् । 

 

उनका अनुसार ‘स्थानीय चुनावका कारण निर्माण कार्यमा केही ढिलाइ भएको छ । माटो कटान, नाली, बेस, सव–बेससहित ५५० मिटर लम्बाई र २० मिटर चौडाइ गर्ने काम सकिएको छ । 

 

सुदूरपश्चिममा धनगढीको गेटा विमानस्थल पछि विमान अवतरण गराउन सबैभन्दा सजिलो एयरपोर्टका रूपमा यसलाई लिइने गरिन्छ । साँफेबगर विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ । रासस

साँफेबगर विमानस्थल

विशेष