राजनीतिको स्वरुप परिवर्तन भयो, बन्द- हडताल आवश्यक छैन : कांग्रेस प्रवक्ता शर्मा
झापा । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको राजनीतिको स्वरुप परिवर्तन भएको बताएका छन् । उनले आफ्ना राजनीतिक माग पूरा गराउन अब सडकमा टायर बाल्ने, कालो झण्डा देखाउनेदेखि नारा जुलुस गरेर बन्द हडताल गर्ने दिनको अन्त्य भएको जिकिर गरे ।
झापाको दमकमा बिपी अध्ययन प्रतिष्ठान झापा र युथ नेटवर्कले शनिबार आयोजना गरेको ‘राजनीतिक संस्कार र हाम्रो युवा नेतृत्व’ विषयक अन्तरसंवादमा प्रवक्ता शर्माले अब जनताले अधिकारका लागि आन्दोलित हुनुपर्ने अवस्था सधैँका लागि अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले राजनीतिक संस्कार विस्तारै परिवर्तनतर्फ उन्मुख भएकाले अब राजनीतिमा युवाको नेतृत्वको खाँचो रहेको बताए । प्रवक्ता शर्माले राजनीतिमा युवाको अग्रता, अगुवाइबिना मुलुकले परिवर्तन प्राप्त गर्न नसक्ने भन्दै युवाले असल राजनीतिक संस्कारलाई जोड दिनु पर्ने बताए ।
प्रवक्ता शर्माले प्रजातन्त्र, लोकतन्त्र नारा जुलुस गर्न पाउनुमात्र नभएर नागरिकले मौन रुपमा राखेका मागलाई भने राज्यले उचित सम्बोधन गर्नुपर्ने धारणा राखे ।
विश्वप्रकाश शर्मा