नेपाली युवतीहरुलाई भारतमा लगेर कोठी चलाउने खत्री २ महिनापछि पक्राउ
काठमाडौं । नेपाली युवतीहरुलाई लगेर भारतमा कोठी चलाउने अभियुक्त पक्राउ परेका छन्। अर्घाखाँची सितगंगाका २६ वर्षिय रमेश खत्रीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआईबी)ले पक्राउ गरेको हो।
उनको कोठीबाट भागेकी एक युवतीको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको सिआईबीका एसपी बुद्धिराज गुरुङले बताए। प्रहरीका अनुसार उपचारको बहानामा उनले युवतीहरुलाई दिल्ली लैजाने गर्दथे।
अपार्टमेन्टमा बन्धक बनाएर आफु पनि यौन शोषण गर्ने र ग्राहक खोजेर जबरजस्ती सम्बन्ध राख्न लगाउथे। युवतीहरुलाई केही पैसा दिएर उनले फकाउने प्रयास गर्दथे।
नमान्नेको नांगो भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै जबरजस्ती बेश्याबृतिमा लगाउदै आएको प्रहरीले जनाएको छ।
निवेदन परेको २ महिनापछि उनी पक्राउ परेका हुन्। मानव बेचबिखन तथा ओसार पसार मुद्दामा अदालतले उनलाई ७ दिनको म्याद दिएको छ। उनीबारे थप अनुसन्धान गर्न सिआईबी टोली दिल्ली जाने तयारी गरेको छ।