राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान शाहकाे निधन
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान तथा स्ट्राइकर मणि शाहको सोमबार साँझ निधन भएको छ। शाहको थापाथलीस्थित नर्भिक अस्पतालमा ५१ वर्षको उमेरमा निधन भएको अस्पताल प्रशासनले पुष्टि गरेको छ।
केही वर्षयता कलेजोको समस्याले ग्रस्त शाहलाई गत शनिबार ज्वरो आएपछि अस्पताल भर्ना गरिएको थियो। लगत्तै स्वास्थ्य स्थिति जटिल बनेपछि उनलाई भेन्टिलेटरमा राखिएर उपचार भएको थियो।
कलेजो फेल भएका कारण उनको मृत्यु भएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन्। शाहका श्रीमती र छोरी छन्। सन् १९९३ ढाकामा भएको छैटौं दक्षिण एसियाली खेलकुदमा नेपालले मणिकै प्रेरणामा फुटबलतर्फ स्वर्ण जितेको थियो।
उक्त सागमा नेपालले एकमात्र स्वर्ण जितेको थियो। भारतविरुद्ध भएको फाइनलमा निर्धारित समयको खेल सकिन ३० सेकेन्ड बाँकी रहँदा पाएको फ्री-किकलाई गोलमा परिणत गर्दै हारको संघारमा पुगेको नेपाललाई जोगाएका थिए।
त्यसपछि नेपालले अतिरिक्त समयमा गोल गर्दै पहिलो स्थान हात पार्न सफल भएको थियो।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले शाहको निधनमा दु:ख प्रकट गर्दै उनको पार्थिव शरीर मंगलबार बिहान १० बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा श्रद्धाञ्जलीका लागि राखिने जानकारी दिए।