News अपराध सुरक्षा

३३ किलो सुनकाण्डः एसएसपी खत्रीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी

३३ किलो सुनकाण्डः एसएसपी खत्रीलाई पक्राउ गर्न देशभर सर्कुलर जारी

काठमाडौं । बयानका लागि उपस्थित नभएपछि वरिष्ठ प्रहरी उपरिक्षक-एसएसपी श्याम खत्रीलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभरका युनिटलाई सर्कुलर जारी गरेको छ। 

 

३३ किलो सुन बेपत्ता र सनम शाक्य हत्या प्रकरणमा छानबिन गर्न गृहमन्त्रालयले गठन गरेको छानबिन समितिले केही साताअघि खत्रीलाई बयानका लागि बोलाएको थियो।

 

तर खत्री कार्यालयसमेत जान छाडेर बेपत्ता भएका थिए । २०७३ सालको पुसमा त्रिभुवन विमानस्थलबाट पक्राउ परेको साढे ३३ केजी सुनमा पनि खत्री तानिएका थिए। त्यतिबेला विमानस्थलमा दरबन्दी रहेका खत्रीले पछि सफाइ पाएका थिए।

 

निलम्बन फुकुवा भएपछि उनी प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा कार्यरत थिए। समितिले खत्रीका चालक प्रहरी जवान बिष्णु खड्कालाई नियन्त्रणमा लिइसकेको छ।  स्रोतका अनुसार सुन तस्करीका नाइके चुडामणि उप्रेती ‘गोरे’सँग खत्रीको सम्बन्ध लामो समयदेखि थियो।

 

बानेश्वरस्थित  ‘गोरे’ को सुन राख्ने कोठाबाट बरामद भएको कागजपत्रमा एसएसपी खत्रीको लेनदेन र टेलिफोन सम्पर्कसमेत देखिएको तथ्य फेला परेपछि सुन प्रकरणमा खत्री पुन तानिन सक्ने देखिएको छानबिन समिति स्रोतका एक सदस्यले बताए।

 

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले दुई साताअघि मोरङमा सनम शाक्यको लास डिक्कीमा राखेर लैजाँदै गरेको अवस्थामा एउटा गाडी नियन्त्रणमा लिएको थियो।

 

महाशाखाको प्रारम्भिक अनुसन्धानमा त्रिभुवन विमानस्थल हुँदै नेपाल भित्रिएको सुन बेपत्ता बनाएको आरोपमा यातना दिँदा शाक्यको मृत्यु भएको पाइएको थियो। प्रहरीले केहीलाई नियन्त्रणमा लिएको थियो।

 

तर तस्करका नाइके गोरेलाई जोगाउन महाशाखाले अर्कै कथा तयार गरेको आरोप शाक्यका परिवारबाट लागेपछि घटनाले अर्कै मोड लिएको थियो। गृहले बनाएको छानबिन समितिकै सिफारिसमा महाशाखाका तत्कालीन प्रमुख दिवेश लोहनी तथा अप्रेसनमा खटिएका महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण सन्जेललाई हेडक्वार्टर तानिएको थियो।

 

लगातारको बयानपछि सन्जेललाई मुद्धा समेत चलाई सकिएको छ भने हाल मोरङमा रहेको छानबिन समितिले बयानमा उपस्थित हुन लोहनीलाई पनि पत्राचार गरिसकेको छ।

 

छानबिन समितिले सनम शाक्य हत्या प्रकरण र तस्करीमा गोरेको कनेक्सनलाई जोडेर बृहत अनुसन्धान गरेको दाबी गरेको छ। यसै अनुसार ठुलो स‌ंख्यामा मानिसहरु तानिएका छन्। तर बेपत्ता भएको सुन कहाँ छ भन्ने पत्ता लाग्न सकेको छैन।

 

गोरे भने फरार छन्। ६ प्रहरी अधिकारीसहित २८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।

 

पक्राउ पर्ने प्रहरी अधिकारीमा पूर्वडिआइजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डिएसपीहरू सञ्जय राउत र प्रजित केसी, सई बालकृष्ण सन्जेल र प्रहरी जवान बिष्णु खडका छन्।

 

उनीहरुविरुद्ध स‌ंगठित अपराधमा मुद्धा चलाईएको छ। बुधबार वा बिहीबार अदालतमा मुद्धा पेश गर्ने तयारी छ।

३३ किलो सुन प्रकरण एसएसपी श्याम खत्री

विशेष