समाज राजनीति भिडियो News

सरकारले अरु बेला देखेन, मोदी आउँदा पक्राउ गर्न आयो (भिडियो)

सरकारले अरु बेला देखेन, मोदी आउँदा पक्राउ गर्न आयो (भिडियो)

काठमाडौं । २१ महिना अर्थात् ६३० दिन । यसलाई घण्टामा हेर्दा १५ हजार १ सय २० घण्टादेखि न्यायको खोजीमा आन्दोलनरत विश्वनाथ गौतम र उनको परिवारलाई सरकारले फेरि हिरासतमा पुर्यायो । विना कसुर जेलजीवन भोगेर फर्किएका गौतम न्यायको खोजीमा धर्ना बस्दैआएका थिए ।

 

यसअघि सुनुवाइ नगरेको सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमै आउने दिन गौतम र उनको परिवारलाई पक्राउ गरेको थियो ।

 
विना कसुर सात वर्ष जेल सजाय भेगेका विश्वनाथ गौतमको धर्नाले मोदी भ्रमणमा समस्या आउनसक्ने भन्दै सरकारले उनलाई पक्राउ गरेको थियो । 

 

गैरकानुनी रुपमा बैंकिङ, इन्स्योरेन्सलगायतका आर्थिक गतिविधि गरेर अर्बौं ठगेको अभियोगमा सरकारले युनिटी लाइफ इन्टरनेशनल कम्पनीका संचालकलाई पक्राउ गरेको थियो ।


उनलाई पनि युनिटी लाईफ इन्टरनेशनल कम्पनीको संचालकको हैसियतमा प्रहरीले पक्राउ गर्यो । यथार्थमा उनी त्यहाँका कर्मचारी मात्रै थिए । यद्यपि गौतमले ७ वर्ष जेल जीवन भोग्नुपर्यो । यतिसम्म कि, उनीमाथि लगाइएको मुद्धा अझै खारेज भएको छैन ।

 

बिना कसुर जेल बस्नु परे बापत पाउनुपर्ने क्षतिपूर्ति पनि गौतम परिवारले पाएको छैन । यीनै माग पूरा गर्न सरकार उदासिन भएको भन्दै उनीहरुको धर्ना २१ महिनासम्म पनि टुंगिएको छैन ।

 

धर्नारत गौतम संसद भवन छेउबाट हट्न नमानेपछि प्रहरीले गौतमसँगै उनकी पत्नी र ९१ वर्षीय ससुरालाई पनि करिब १२ घण्टा हिरासतमा राख्यो । हिरासतबाट हिरा भएपछि तीनैजना नेपालआजको स्टुडियोमा आएर अन्तरवार्ता दिएका छन् ।

 

गौतम परिवारसँग नेपालआजले गरेको अन्तरवार्तामा गौतम पत्नी दिपाले २१ महिनासम्म आफूहरु धर्नामा बसेको नदेखेको सरकारले मोदी महाराज आएपछि मात्र देखेको भन्दै आक्रोश व्यक्त गरिन् ।

 

उनले थपिन्, ‘मैले न्यायको लागि जीवनको प्रवाह नगरी धर्ना गर्दा यो लाचार सरकारले आँखा देखेन । मोदी महाराज नेपालमा आउँदा प्रहरी पठाएर हटाउन लगायो । यो कसैले छोपेर छोपिने कुरा हैन । सरकारको यो नांगो रुप सबैले देख्नुपर्छ ।’

 

सरकारसामु आफूमाथि भएको अत्यचारबारे बारम्बार निवेदन पेश गर्दा पनि कुनै पक्षबाट न्यायको प्रत्याभुती हुन नसकेको उनको गुनासो छ ।

 

‘मैले न्यायको भिख मागिरहेकी छु । नेपाल मेरो पनि हो । मैले न्याय मागेर आपराध गरेको हो र ! यो अपराधिको संरक्षक सरकाले हामीमाथि बारम्बार अन्याय गरेको छ’, दिपाले भनिन् ।

 

अन्तरवार्तामा गौतम आफूमाथि सरकारलाई प्रभावमा पारेर युनिटीका प्रतिस्पर्धी कम्पनीले फसाएको बताए । साथै राजनीतिक क्षेत्रबाट पनि ठूलो षड्यान्त्र भएको गौतमा बताउँछन् ।

 

उनले भने, ‘अहिलेको सरकार पञ्चायती शैलीमा काम गरिरहेको छ । सरकारको यो रबैयाले नेपाली जनतालाई ठूलो कष्ट हुने निश्चत छ ।’ गौतमले थपे, ‘हिजो यस्तै रबैया देखाएका राजनीतिक दलको नाम निसान मेटिएको छ । अब यस्तै रबैया देखाउँदै गएमा यो शासन प्रणाली र पार्टीको पनि नाम मेटिएर जान्छ ।’

 

गणतन्त्रमा दल–बल देखाएर गरिने यस्तो रबैयाले यो शासन प्रणाली नै संकटमा पर्ने उनको बुझाइ छ । 

 

गौतमका ९१ वर्षीय ससुराले सरकारको मानमर्दन गर्न आफूहरु धर्नामा नबसेको भए पनि प्रहरीले जर्बजस्ती गरेर पक्राउ गरेकोमा दुखेसो गरेका छन् ।

पक्राउ धर्ना गाैतम परिवार

विशेष