News समाज

होचो मान्छेले कपडा छान्दा ध्यान दिनुपर्ने कुरा

होचो मान्छेले कपडा छान्दा ध्यान दिनुपर्ने कुरा

मानिसको व्यक्तित्व झल्काउन उसले प्रयोग गर्ने कपडाको पनि मुख्य भूमिका रहन्छ । मानिस समय र मौसमअनुसारको फेसन गर्न रुचाउँछ । फेसन बजारमा ऊ आफूलाई फेसनप्रति सचेत देखाउन हरसम्भव कोसिस गरिरहेको हुन्छ । यसरी फेसन परिवर्तन गर्दा हामीले हाम्रो शारीरिक बनावट र उचाइलाई पनि ध्यान दिन जरुरी छ ।

 

विशेष गरी उचाइ सानो भएका किशोरी वा महिलाले कपडा रोज्दा एकदमै ध्यान दिनुपर्छ । अथवा कसैको सल्लाह पनि लिन सकिन्छ । उचाइ कम भएकाहरूले लाइट कलर टोन भएको कपडा प्रयोग गर्दा सुहाउँछ ।

 

अहिले गर्मी मौसम सुरु भएसँगै फेसन ट्रेन्ड पनि परिवर्तन भएको छ । गर्मी मौसममा फेसनेबल मात्र नभएर शीतल पनि हुने खालको कपडा जोकोहीको रोजाइमा पर्छ ।

 

यसवेला हामी आफूलाई शीतल लाग्ने र अरूले देख्दा पनि कुल देखियोस् भन्ने चाहना राख्छौँ ।

 

त्यस्तै, आफ्नो व्यक्तित्वमा पनि कमी नआओस् भन्ने हुन्छ । त्यसैले गर्मी मौसममा हामी कलरफुल प्रिन्टेट कपडाहरू रोज्छौँ ।

 

यदि आफ्नो उचाइ सानो अर्थात् होचो भए त्यस्ता प्रिन्टेट कपडा रोज्दा सानोसानो प्रिन्ट भएको रोज्नुपर्छ । अर्थात् सानोसानो बुट्टा भएको कपडा प्रयोग गर्नुपर्छ । ठूलो फूलबुट्टा भएको कपडा लगाउँदा झन् होचो देखाउँछ ।

 

हामी हाम्रो रोजाइलाई बजारमा चलेको ट्रेन्डअनुसार पनि परिवर्तन गरिरहेका हुन्छौँ । अर्थात् हाम्रो फेसनलाई बजारमा चलेको फेसन ट्रेन्डले डोमिनेट गरी रुचि अथवा फेसनअनुसार पनि ट्राई गर्छौं । तर, कतिपय अवस्थामा त्यस्ता फेसनले हामीलाई आकर्षक नदेखाउन सक्छ ।

 

बजारमा चलेको फेसन ट्रेन्डलाई फलो गर्दा पनि आफ्नो शारीरिक बनावटलाई ध्यान दिन जरुरी छ । कुनै पनि नयाँ फेसन ट्रेन्ड ट्राई गर्नुअघि फेसन आर्टिस्ट अथवा डिजाइनरको सल्लाह लिन सकिन्छ ।

 

त्यस्तै, हामीले धर्सा भएका कपडा पनि प्रयोग गरिरहेका हुन्छौँ । त्यस्तो अवस्थामा ठाडो धर्सा (भर्टिकल स्ट्राइप) भएका कपडाको प्रयोग गर्न सकिन्छ । तेर्सो धर्सा भएका कपडाले हाम्रो उचाइलाई झन् होचो देखाउँछ । त्यस्तै, होचो मान्छेले फ्लोर लेन्थ भएका कपडा प्रयोग नगरेकै राम्रो । सकेसम्म घुँडासम्मको लम्बाइ भएको कपडाको प्रयोग गर्नुपर्छ । कडा कपडा नरोज्नु नै राम्रो ।

 

फ्लो, सफ्ट कपडाको प्रयोग गर्न सकिन्छ । त्यस्तै होचो महिला वा किशोरीहरूले लेहेँगा रोज्दा हाई बेस्ट भएको रोज्नुपर्छ र सकेसम्म बोर्डर नभएको रोज्नुपर्छ । यदि रोजिहाले पनि एकदम सानो बोर्डरको भएको प्रयोग गर्नु राम्रो हुन्छ । चोली वा लेहेँगामा प्रयोग हुने बुट्टाहरू सानो र ठाडो परेको रोज्नुपर्छ । नयाँ पत्रिकाबाट

कपडा शारीरिक बनावट

विशेष