News अपराध सुरक्षा

सुन तस्करीका आरोपीलाई पेस गर्न आदेश

सुन तस्करीका आरोपीलाई पेस गर्न आदेश

सुन तस्करीको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार थुना रहेका बन्दीलाई उपस्थित गराउन उच्च अदालत पाटनले आदेश दिएको छ । उच्च अदालतका न्यायाधीशद्वय प्रेमराज ढकाल र हेमराज पन्तको संयुक्त इजलासले सुन तस्करका आरोपी कुन्साङ लामालाई अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

 

लामाले दिएको निवेदनमा पहिलो सुनुवाइ गर्दै उच्च अदालतले झगडिया झिकाउने आदेश गरेको हो । उच्च अदालतले अर्को सुनुवाइमा उनलाई थुनामा राख्ने या जिल्ला अदालतको आदेश सदर गर्नेबारे आदेश जारी गर्नेछ ।

 

प्रहरीको अनुसन्धानका क्रममा लामाले आफू गाडीचालक मात्रै भएको बयान दिएका थिए । चीनको केरुङबाट रसुवागढी हुँदै काठमाडौं भित्र्याएको सुन कसको थियो भन्ने अनुुसन्धानकै क्रममा छ । चीनको केरुङबाट रसुवागढी हुँदै जिप ल्याइएको सुन आफ्नो नभएको लामाले बयान दिएका थिए ।

 

२४ पुस ०७३ मा प्रहरीले लामालाई अवैध सात केजी सुनसहित काठमाडौंको कलंकीबाट पक्राउ गरेको थियो । सरकारी वकिलको कार्यालय काठमाडौंले लामालाई तीन करोड १६ लाख २६ हजार बिगो र पाँच वर्ष कैद सजाय माग गर्दै मुद्दा दायर गरेको थियो ।

 

अदालतको आदेशपछि लामालाई जेल चलान गरिएको थियो । जिल्ला अदालत काठमाडाैंको आदेशपछि लामाले ३१ असोज ०७४ मा पुनरावेदनको माग गर्दै उच्च अदालत पाटनमा निवेदन दिएका थिए । याे खबर नयाँ पत्रिका दैनिकमा छ । 

सुन तस्करी उच्च अदालत पाटन प्रेमराज ढकाल हेमराज पन्त

विशेष