५० देशका कम्युनिष्ट युवाहरु नेपालमा

काठमाडौं । माक्र्सवादी विचाराधारा बोकेका विश्वका करिब ५० देशका युवाहरु नेपालमा भेला भएका छन्। बुधबारदेखि काठमाडौंमा सुरु हुन लागेको विश्व प्रजातान्त्रिक युवा संघको बैठकमा भाग लिन उनीहरु नेपाल आएका हुन्।
बैठकको राष्ट्रिय सभा गृहमा नेपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली तथा नेकपका अध्यक्ष प्रचण्डले उद्घाटन गर्नेछन्। त्यसपछि गोकर्ण रिसोर्टमा बैठक बस्ने छ। बैठकमा विभिन्न विषयहरुमा छलफल हुने सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष नवीना लामाले बताइन्।
विश्व प्रजातान्त्रिक युवा संघ समाजवाद तथा माक्र्सवाद विचारधारा बोक्ने युवा तथा बिद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन हो। जसको नेपालमा अनेरास्ववियु र युवा संघ सदस्य छन्। संघको एक सय ९० वटा सदस्य छन्। ८३ देशमा संघको संगठन छ।
नेपालमा भर्खर दुई ठुला कम्यूनिष्ट पार्टीको एकीकरण भएकाले बैठकमा आएकाहरुले यसलाई थप चासोका साथ हेरेको लामाले बताइन्। नेपालमा यस्तो बैठक आयोजना गर्दा नेपालको पर्यटनको प्रचारमा समेत सहयोग पुग्ने अनेरास्ववियुका प्रवक्ता सुदीप शर्मा बताउँछन् ।
कम्युनिष्ट युवा नेपालमा