विदेश मुख्य समाचार

महिलाको पेटमा कोकिनका १०६ क्याप्सुल

महिलाको पेटमा कोकिनका १०६ क्याप्सुल

नयाँ दिल्ली ।  भारतमा लागूऔषध ओसारपसार गर्न प्रयास गर्ने एक महिलाको पेटबाट लागूऔषध कोकिनका एक सय छ वटा क्याप्सुल सफलतापूर्वक निकालिएको भारतीय प्रहरीले बताएको छ।

 

गोप्य सूचनाका आधारमा २५ वर्षीया विदेशी महिलालाई मे १४ मा दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको भारतीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । पक्राउ परेपछि ती महिलाले एक साता अस्पतालमा बिताएको बताइएको छ । 


अस्पतालमा रहँदा उनलाई कोकिनको असर कम गर्ने औषधी दिइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । ती महिलाको पेटबाट निकालिएको कोकिनको अनुमानित मूल्य पाँच करोड भारतीय रूपैयाँ रहेको भारतीय अधिकारीहरुले बताएका छन् ।

 

ब्रजिलको साओ पावलोमा ती महिलाको पेटमा कोकिनका क्याप्सुल राखिएको र भारतको राजधानी नयाँ दिल्लीमा रहेका नाइजेरियाली नागरिकलाई ती क्याप्सुल दिन भनिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । 

 

भारतीय लागूऔषध नियन्त्रण विभागका अधिकारीहरुले ‘द हिन्दुस्तान टाइम्स’ पत्रिकालाई बताएअनुसार भारतमा यति ठूलो परिमाणमा कोकिनका क्याप्सुल निकालिएको यो पहिलो घटना हो ।

 


 उनीहरुले अरु बेला फेला पारिने सस्तो खालको भन्दा मे १४ का दिन बरामद गरिएको कोकिन उच्चस्तरीय रहेको र ती कोकिन कोलम्बियाको भएको बताएका छन् । ती महिलाले कोकिनको क्याप्सुल हस्तान्तरण गर्ने भनिएका नाइजेरियाली नागरिकको हाल खोजी भइरहेको भारतीय प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ ।

लागूऔषध  भारत कोकिन

विशेष