राजनीति भिडियो कभर स्टोरी

 कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउँदैछन् प्रचण्ड (भिडियोसहित)

 कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउँदैछन् प्रचण्ड (भिडियोसहित)

काठमाडौं । राजनीतिक विश्लेषक भरत दाहालको टिप्पणी तिखो हुने गर्छ । नेपाल साम्राज्यवादी शक्तिको सिकार भएकोले नेपाल र नेपालीको हित गर्ने क्षमता नेपालका शासकले राख्दैनन् भन्ने दाहालको ठहर छ । नेपाल अरुबाट भन्दा पनि छिमेकी मुलुक भारतबाट बढी पीडित भएको दाहाल दावी गर्छन् । नेपालआजसँगको कुराकानीमा विश्लेषक दाहालले नेपाल भारत सम्बन्ध, भारतको थिचोमिचो, वाम एकता बारे गम्भीर धारणाहरु राखेका छन् । उनले राखेको धारणाको सार यस्तो छः   


‘कसैको भ्रमण पनि आफ्नो स्वार्थको लागि हुने हो । मोदीको नेपाल भ्रमण पनि उनकै स्वार्थका लागि हुन्छ । नेपालका नेताहरु मात्रै यस्ता हुन् जो भारत भ्रमणमा जाँदा आफ्नो निजी स्वार्थ बोकेर जान्छन् । नाकाबन्दीपछि नेपालमा भारतविरोधी मानसिकता बनेको छ । त्यो क्षतिको भरपाईका लागि मोदी नेपाल आउने हुन् । त्यो कोणभन्दा बाहिर गएर उनीहरुले नेपाल भ्रमण गर्दैनन् । नेपालमा भारतको दबदबालाई बचाई राख्न उनीहरु नेपाल आउने हुन् । अन्य सदासयता केही होइन । नेपालमा भारतले लुट्न केही बाँकी राखेको छैन । हरेक क्षेत्रमा नेपाल सबै लुटीनै रहेको छ । किसानको उब्जनी पनि नेपाल सरकारले तोक्दैन । जडिबुटी, पानी, खानी सबै भारतको हातमा गएको छ । नेपालको भन्नु मात्रै हो । 

 

राजनीतिक व्यवस्था नै भारतले सञ्चालन गर्दै आएको छ । उसैले राजनीतिक दल खोलिदिने, उसका नागरिकलाई नेपालको सासद बनाउन सफल भएका दृष्टान्त छन् । यसको बचाउ कसरी गर्ने भन्ने भारतको चिन्ता हो । सिंगो दक्षिण एसियामा चीनको प्रभाव रोक्नु पनि भारतको चाहना हो । केपी ओलीको नाकाबन्दीको बेलामा जुन अडान थियो त्यो सकारात्मक थियो । चीनमा गएर गरिएका समझदारी पनि ठीक थियो । नाकाबन्दीको बेला केपी ओलीले लिएको अडान देशभक्तिबाट प्रेरित थियो भन्ने म ठान्दिनँ । किनभने ओलीको पृष्ठभूमि पनि त्यस्तो होइन । महाकाली सन्धिदेखिका कुराहरुले केपी ओलीको असली चरित्र देखाउँछ । 


कोसी, गण्डकी, अपर कर्णाली, अरुण तेस्रोमा पनि केपी ओलीको कुनै स्वाधीन धारणा छैन । भारतमा भारतीज जनता पार्टी सत्तामा आउनु अघि नेपालमा भारतको जुन सञ्जाल थियो, त्यो ‘र’ र साउथ ब्लकको थियो । मोदी सत्तामा आएपछि साउथ ब्लक र ‘र’बीच अन्तरविरोध पैदा भयो । उनीहरुबीच टकराव देखा पर्यो । त्यसकै छायाँ नेपालमा पनि देखा पर्यो । केपी ओलीले नाकाबन्दीका बेला बोलेका विषयहरु भारतीय हैकमवादविरुद्ध उनी उभिएका थिएनन् । 
 

 

भारतीय जनता पार्टी सरकारमा आएपछि उनीहरु छिमेकीसँग फरक तरिकाले प्रस्तुत भए । छिमेकीसँग दूरी बढ्ने देखियो । जसका कारण भारतीयहरुले साझा सहमति बनाए । दोक्लाम प्रकरणपछि सबै पार्टी र सरकारको साझा सहमति बन्यो । केही विषयहरुमा मित्रदेशहरुबीच पनि टकराव हुन सक्छ । जस्तो की चीन र उत्तरकोरियाबीच पनि केही खटपट भइरहेका हुन्छन् । त्यसकारणले गर्दा भारतको सत्ता र यहाँको सत्ताबीच पनि टकराव आउन सक्छ । कतिपय अवस्थामा गिरिजा, प्रचण्ड र केपी ओलीको पनि यस्तो टकराव देखियो । यसकारण टकराव पर्दैमा उनीहरुका समर्पण होइन भन्ने बुझ्न हुँदैन । 

 

पछिल्लो समय भारतलाई पश्चिमाहरुले प्रयोग नगरुन भनेर चीनले केही नरम व्यवहार देखाएको छ । किनभने भारत पश्चिमा र अमेरिकीबाट बढी प्रयोग हुने सम्भावना सधै हुन्छ । भारत पश्चिमाहको क्याम्पमा गयो भने एसियामा युद्ध थोपरिन सक्छ । यसका कारण चीनले भारतलाई बढी प्राथमिकता दिन सक्छ ।  भारतसँग सम्बन्ध सुधार गर्ने बहानामा केपी ओलीले बोआओ सम्मेलन, अजरबैजानको असंलग्न राष्ट्रहरुको सम्मेलन पनि लगभग बहिष्कार गरियो । यसको अर्थ के भने अन्तर्राष्ट्रिय मञ्चहरुमा नेपाल सहभागी भइहरन पर्दैन, नेपाल भारतसँगै छ, भारत भए भइगयो नी भन्ने सन्देश प्रवाह गर्ने प्रयास भएको छ । 

 

 

नेपालीहरुमा र विश्वभरमा नेपाल हाम्रो मातहत अन्तर्र्गतको प्रशासनिक इकाइ हो भन्ने सन्देश दिन भारतीयहरु सफल भएका  छन् । नेपाल र भारतबीचको सन्धि पुनरावलोकन गर्न बनेको इपिजीले कुनै गतिलो काम गर्छ भन्ने लाग्दैन । मूलतः १९५० को सन्धि संशोधन गर्न भारत चाहँदैन । कालापानी, सुस्ताको समस्या, हजारौं हेक्टर जमिन फिर्ता गर्न भारत तयार छैन । नेपाललाई थिचोमिचो गर्न पाइने धाराहरु हटाउन भारत चाहँदैन ।
 

भारतीयहरुको प्रयास त्यही सन्धिमा आधारित रहेर नेपाललाई भुटानभन्दा गएगुज्रेको अवस्थामा राख्ने हो । १९५० को सन्धि अनुसार संविधान जारी हुनु पर्ने भारतको चाहना थियो । त्यो पूरा नभएपछि भारतले नाकाबन्दी लगाएको हो । नेपालको पानीमा समेत भारतको स्वार्थ छ । नेपालको सबै पानी भारतको अधिनमा हुनुपर्छ भन्ने उनीहरुको चाहना हो ।  नेपालको सबै पानी कब्जा गरेर ६० लाख हेक्टर उनीहरुको जमिनमा सिंचाई गर्ने चाहना छ । 

 

केपी ओलीले पहिले पनि र अहिले पनि सम्बन्ध सुधार भइसकेको बताएका छन् । तर भारतले केपी ओलीको यसपटकको भारत भ्रमणका क्रममा नै भन्यो कि सम्बन्ध सुध्रेको होइन, अगाडि कस्ता घटना हुन्छन्, त्यसका आधारमा सम्बन्ध रहनेछ । नेपालमा भने सम्बन्ध सुध्रेको बताउने गरिन्छ । 

 

नेपालमा पानी जहाज चलाउने हौवा पिटाएर सिंगो कोशीमा अधिन जमाउने भारतको चालबाजी हो । कोशीमा ३ सय मिटर बाँध बाँध्ने पूर्वी पहाड डुबाउने चालबाजी हो । भारतकै खाने, भारतसँग बिकेका मानिसहरुले यो राम्रो आयोजना हो, यसले समुद्रसम्म पहुँच बनाउन मद्यत गर्छ भन्छन् । भारतको भूमि सुरक्षित गरेर, भारतलाई सिंचाई उपलब्ध गराएर नेपालका २० वटा गाविस डुबाउँदा खुसी हुनेहरु पनि छन् नेपालमा । स्याटेलाइटबाट बिजुली बेच्दा १ खर्ब २० अर्ब बर्सेनि फाइदा हुन्छ भन्ने बिकाउहरु पनि पहिले थिए, अहिले उच्च बाँध बाँधे नेपाललाई फाइदा हुन्छ भन्ने बिकाउहरु पनि छन् । हरेक देशमा यस्ता दुई चार कपुतहरु जन्मिन्छन् । 

 

भारतको एकलौटी नचल्ने क्षेत्रीय संगठनहरु भारतले समाप्त पार्दैछ । जस्तो कि सार्क । सार्कमा पाकिस्तान पनि छ । पाकिस्तानसँग भारतको केही चल्दैन । यसकारण उसले अब सार्क समाप्त पार्दै छ । भारतको एकाधिकार नचल्ने ठाउँमा उनीहरु अगाडि नै बढ्दैनन् । खासमा सार्कमा त पाकिस्तान मात्रै होइन, चीन पनि पर्यवेक्षक राष्ट्र हो । दक्षिण एसियालाई आफैले भने जस्तो खेलाउन भारतको हरदम प्रयास हुन्छ । 

 

मलाई के लाग्छ भने सार्कलाई विस्तारै विस्तारै विघटन गर्ने नै हो । मलाई लाग्दैन कि सार्क फेरि ब्यूँतिन्छ । भारतले विविआइएन बनाइसकेको छ । चीनले नेपालमा रेल ल्याउने भनेपछि उनीहरुले रामायण सर्किट ल्याए । रेल पनि ल्याउने कुरा गरेका छन् । अब फास्ट ट्रयाकबाटै रेल ल्याउने कुरा चलाएर फास्ट ट्रयाक भाँड्न सक्छन् ।  मोदीको मानसिकता घीनलाग्दो र आपराधिक छ  । यो कसरी भने नेपालका उनी प्रमुख धार्मिक स्थल जाँदैछन् । तर उनी लुम्बिनी जाँदैनन् । किनभने उनीहरुमा लुम्बिनीप्रति द्रोह छ । 

 

नेपालमा आफ्ना एजेन्ट खेलाउने काम भारतले सधै गरिरहन्छ । केपी ओली सरकारसँग सम्बन्ध सुधारको कुरा भए पनि खासमा भारतको योजना यस्तो  छैन । कसरी दलहरुलाई लडाउने, अस्थीर वातावरण बनाउने भनेर उनीहरु लागिरहन्छन् । एसडी मुनीले त मधेसको कुरा मिलेको छैन भनेर नेपाली सत्तालाई धम्क्याइरहेका छन् । 

 

अहिले वैकल्पिक गठबन्धन निर्माणका लागि प्रचण्डको राजपा, संघीय समाजवादी र शेरबहादुर देउवासँग नियमित छलफल चलिरहेको छ । पछिल्लो सूचना यहि हो । यसकारण कुनै पनि बेला प्रचण्डले ओलीको साथ छाडेर अर्को गठबन्धन बनाउन सक्छन् । यो पनि भारतकै योजनाअनुरुप हो ।

 

नेपालको साधन स्रोत, प्राकृतिक सम्पदा, नगद सबै भारत जान्छ । भारतले नेपालबाट चुस्ने जति चुसिरहेको छ । यति गर्दा पनि भारतको मन शान्त भएको छैन । साम्राज्यवादीको चरित्र नै यस्तै हो । जति लुटे पनि नपुग्ने । शान्तिपूर्ण वातावरणमा लुटे त हुने नी । छिमेका आगो सल्काएर न्यानो ताप्ने, अरुको दुःखमा आफ्नो सुख देख्ने प्रवृत्ति भारतको छ । यस्तो साम्रज्यवादी चरित्र हो । उदाहरणका लागि अफगानिस्तानबाट अमेरिकाले केही पाउँदैन । तर अफगानिस्तान उसले छाड्दैन ।’

गठबन्धन भरत दाहाल

विशेष