काठमाडौं बाहिरका विश्वविद्यालयका सम्पर्क कार्यालय खारेज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यका बाहिर केन्द्रीय कार्यालय रहेका ११ विश्वविद्यालयका काठमाडौँ उपत्यकाभित्र रहेका सम्पर्क कार्यालय खारेज गरेको छ ।
संघीयताको कार्यान्वयनका क्रममा ती विश्वविद्यालयलाई आफ्नो प्रदेशमै रहेका केन्द्रीय कार्यालयबाट प्राज्ञिक र शैक्षिक कार्य सञ्चालन गराउन मन्त्री गिरिराजमणि पोखरेलस्तरको निर्णयबाट सम्पर्क कार्यालय खारेज भएको उनका निजी सचिव पुष्प ढकालले जानकारी दिए ।
काठमाडौँ बाहिर केन्द्रीय कार्यालय भएका विश्वविद्यालयका पदाधिकारीले सम्पर्क कार्यालयबाट पनि काम गर्दै आएकामा अब त्यो क्रम रोकिएको छ ।
ती विश्वविद्यालयको ऐनमा व्यवस्था नभएको तथा आर्थिक मितव्ययिता र कर्मचारी व्यवस्थापनको सहजताका लागि यस्तो निर्णय गरिएको सचिवालयले जनाएको छ ।
विश्वविद्यालय अनुदान आयोगले विश्वविद्यालयको वर्गीकरण गरी संघीय विश्वविद्यालय र प्रादेशिक विश्वविद्यालयको मापदण्ड तयार गर्दैछ ।
खारेज विश्वविद्यालय सम्पर्क कार्यालय