News देश

श्रीलंकाबाट पाइलट ल्याउने नेवानिको तयारी

श्रीलंकाबाट पाइलट ल्याउने नेवानिको तयारी

काठमाडौं । नेपाल वायु सेवा निगम (नेवानि) ले वाई १२ सिरिजका जहाज उडाउन श्रीलंकाबाट पाइलट ल्याउने तयारी गरेको छ। यसअघि मासिक आठ हजार डलरमा चिनियाँ पाइलट ल्याउने प्रक्रिया थालेको नेवानिले चिनियाँ पाइलटको योग्यता नपुगेपछि फेरि श्रीलंकाबाट ल्याउने तयारी थालेको हो।

 

‘तीन जना चिनियाँ पाइलट ल्याउने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणसँग सहमति माग गरिएको थियो’, नेवानिका महाप्रबन्धक सुगतरत्न कंसाकारले भने, ‘नेपालको उड्डयन ऐनअनुसार योग्यता नपुगेपछि श्रीलंकाबाट पाइलट ल्याउने तयारी भएको हो।’

 

पाइलट अभावकै कारण चीनबाट ल्याइएका चारवटा वाई १२ सिरिजका जहाज ग्राउन्डेड छन्। नेवानिसँग चारवटा चिनियाँ जहाज उडाउने दुई जना मात्रै पाइलट छन्। अहिले चारवटा चिनियाँ वाई १२ जहाज दुई पाइलटले पालै पालो उडान गरिरहेको कंसाकार बताउँछन्। चारवटा जहाज उडानका लागि न्यूनतम पनि सात जना पाइलट आवश्यक पर्छ।

 

तर, कंसाकारलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले जसरी पनि चिनियाँ जहाज उडाउन बारम्बार निर्देशन दिइरहेका छन्। मन्त्रीको निर्देशन आए पनि पाइलट पाउन मुस्किल भएको कंसाकार बताउँछन्। अन्नपूर्णपाेष्ट दैनिकबाट

श्रीलंका पाइलट नेपाल वायु सेवा निगम चिनियाँ पाइलट

विशेष