News अपराध सुरक्षा मुख्य समाचार

बालकृष्ण ढुंगेलको कैद मिनाहाको सिफारिसविरुद्ध सर्वोच्चमा रिट

बालकृष्ण ढुंगेलको कैद मिनाहाको सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । ज्यान मारेको अभियोगमा दोषी ठहर भई कारागारमा रहेका तत्कालीन माओवादी नेता बालकृष्ण ढुंगेलको बाँकी कैद मिनाहा गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

 

अधिवक्ता दिनेश त्रिपाठीले कैद मिनाहा गर्ने सिफारिसले मुलुकको फौजदारी न्याय प्रणालीको मर्ममाथि प्रहार गरेको भन्दै सर्वोच्चमा रिट निवेदन दिएका हुन् ।

 

रिट निवेदनमा गम्भीर फौजदारी अभियोगमा दोषी ठहर भएका व्यक्तिलाई शक्ति र पहुँचका आधारमा जथाभावी रूपमा माफी मिनाहा दिनु गलत भएको उल्लेख छ । 

 

पक्राउ पर्नुभन्दा केही समयअघि आफू जोडिएको मुद्दाको फैसला गर्ने न्यायाधीशमाथि नै ज्यान मार्ने धम्की दिएको अवस्थामा कैद मिनाहा गर्ने निर्णयले समाज र पीडितलाई समेत खतरा पर्ने उल्लेख छ ।


फरार रहेकै अवस्थामा पक्राउ परेको, पक्राउ परेको छ महिनासमेत बितिनसकेको अवस्थामा ६० प्रतिशत कैद मिनाहा गर्ने तयारीले दण्डहीनता मौलाउने भन्दै सिफारिसविरुद्ध अन्तरिम आदेश जारी गर्न माग गरिएको छ ।

 

ढुंगेललाई १२ वर्ष ५ महिना २२ दिन कैद गर्न सर्वोच्च अदालतले गत वर्ष वारेन्ट नै जारी गर्नुपरेको थियो । ढुंगेलसहित प्रतिवादी भएको कर्तव्य ज्यान मुद्दामा सर्वोच्चले २०६६ साल पुस १९ गते ढुंगेललाई सर्वस्वसहित जन्मकैदको सजाय हुने फैसला गरेको थियो । 

 

आफू प्रधानमन्त्री भएको दुई महिनाभित्रै बाबुराम भट्टराईको मन्त्रिपरिषदले २०६८ कात्तिक २२ मा उनलाई फैसला भएको कैद माफी गर्न सिफारिस गर्‍यो । त्यो निर्णयविरुद्ध परेको मुद्दामा सर्वोच्चले २०७२ पुस २३ गते ढुंगेलको कैद सजाय माफी मिनाहा नहुने निर्णय गरेको थियो ।

बालकृष्ण ढुंगेल सर्वोच्च रिट

विशेष