News विदेश

कुमारस्वामी कर्नाटकको मुख्यमन्त्री

विपक्षीहरू भाजपाविरुद्ध एक

कुमारस्वामी कर्नाटकको मुख्यमन्त्री

कर्नाटक राज्यको मुख्यमन्त्रीको शपथग्रहण समारोहमा विभिन्न भारतीय नेताहरू र नवनियुक्त मुख्य मन्त्री एचडी कुमारस्वामी (तल) । तस्बिर : रोयटर्स

बैंग्लोर । भारतको कर्नाटक राज्यको मुख्यमन्त्रीमा जनता दल (सेकुलर) का नेता एचडी कुमारस्वामीले बुधबार शपथ लिएका छन् ।

 

कुमारस्वामी भारतीय कंग्रेससँगको गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका हुन् । त्यसैगरी, कंग्रेसका जी परमेश्वर उपमुख्यमन्त्री बनेका छन् । उनलाई कर्नाटकका गभर्नर बजुभाई वालाले पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । कुमारस्वामी दोस्रोपटक कर्नाटकको मुख्यमन्त्री बनेका हुन् । यसअघि उनी भाजपासँगको गठबन्धनमा सन् २००६ मा २० महिना मुख्यमन्त्री बनेका थिए ।

 

शपथग्रहण समारोहमा सत्ताधारी भाजपाको विरोध गर्ने कपितय नेताहरूको समेत उपस्थिति थियो । कार्यक्रममा विपक्षी दलहरूले भाजपाविरुद्ध ऐक्यबद्धतासमेत जनाएका छन् ।

 

समारोहमा यूपीए अध्यक्ष सोनिया गान्धी, कंग्रेस अध्यक्ष राहुल गान्धी, बीएसपी नेता मायावती, समाजवादीका अध्यक्ष अखिलेश यादव, जनता दल (युनाइटेडका) शरद यादव, भारतीय कम्युनिस्ट पार्टीका महासचिव सीताराम यचुरी, एनसीपी नेता शरद पावर र आरजेडीका तेजस्वी यादवलगायतको उपस्थिति रहेको थियो ।

 

त्यसैगरी पश्चिम बंगालका मुख्यमन्त्री ममता बेनर्जी, दिल्लीका अरविंद केजरीवाल, आन्ध्र प्रदेशका एन चन्द्रबाबु नैडु तथा केरलाका पिनरायी विजयान पनि शपथग्रहणमा उपस्थित थिए । अरविन्द केजरीवाल, मायावती तथा सीताराम यचुरी कंग्रेसका कट्टर आलोचकका रूपमा चिनिन्छन् । एजेन्सी

एचडी कुमारस्वामी कर्नाटक राज्य भारतीय कंग्रेस

विशेष